नेपालगन्ज छाड्यो परीक्षा नियन्त्रण कार्यालयले

त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा सरेको छ । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा २०५४ सालदेखि सञ्चालनमा रहेको पनिकाको क्षेत्रीय कार्यालय आफ्नै कार्यालय भवन निर्माण गरी कोहलपुरमा सरेको हो ।

बिहीबार औपचारिक कार्यक्रम बीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको प्रशासनिक भवन उद्घाटन गरे । ‘नेपालगन्ज क्षेत्रमा कार्यालय भवनका लागि जग्गा प्राप्तिमा आवश्यक सहयोग नभएपछि कार्यालय कोहलपुरमा प्राप्त जग्गामा पाँच करोड बढी लागतको भवन निर्माण गरिएको’ कार्यालय स्रोतले जनाएको छ ।

वि.सं. २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पस परिसर भित्र रहेको कार्यालय भवन पछिल्लो १२ बर्षदेखि भाडाको घरमा सञ्चालित थियो । ‘केही उपाय नलागेपछि कोहलपुरमा प्राप्त भएको जग्गामा कार्यालय भवन निर्माण गर्नुपरेको’ क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख सुमन गौतम बताउँछन् ।

लुम्बिनी प्रदेशका ६ र कर्णाली प्रदेशका सबै गरी 16 जिल्लाको सेवा प्रवाहका लागि बनाइएको कार्यालय उद्घाटन कार्यक्रममा कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सुदूरपश्चिम प्रदेशको सेवा समेत कोहलपुरबाटै प्रवाह गर्न आव्हान गरे ।

पनिकाका क्षेत्रीय प्रमुख सुमन गौतमका अनुसार, कार्यालयलाई अत्याधुनिक डिजिटलाइज गरिएको छ भने 16 वटै जिल्लाबाट प्राप्त हुने उत्तरपुस्तिका चेकजाँचका लागि आवश्यक पूर्वाधार तयार भैसकेको छ । ‘गत भदौदेखि नै अनौपचारिक रूपमा कार्यालय कोहलपुर सारिसकेपनि औपचारिकता आजबाट दिएका हौं’, भवन उद्घाटन पछि गौतमले भने ।

Exit mobile version