देशमा आजः ८ बजे ८ खबर

  1. बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट बिहीबार विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
  2. भोटेकोशीको बेलिब्रीज बगेपछि ठप्प बनेको उत्तरी नाका तातोपानी नाकालाई लार्चामा तुइन र फड्के बनाएर जोडिएको छ । भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने कोदारी राजमार्ग २६ किलोमिटरको लार्चामा बेलिब्रीज र लिपिङमा मोटरबेल पुल बगेयता सीमाक्षेत्रको राजधानी जोड्ने सडक सम्पर्क पूरै टुटेको थियो ।
  3. घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गुर्भाकोट नगरपालिका-७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।
  4. देशभर बाढी पहिरोले एक सयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाअनुसार एक सय १५ वटा विद्यालयमा पूर्ण र आंशिक रुपमा क्षति भएको विवरण प्राप्त भएको हो ।
  5. भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।
    मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’
  6. सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा बिहीबारदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।
  7. चाडबाड र राजमार्ग अवरुद्ध भएको मौकामा आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ । बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्काउनु परेको जानकारी गराएको छ ।
  8. बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आएका छन् ।
    बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुर जोड्ने गरी बनेको केबलकार २०८० साल जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो ।
Exit mobile version