बडा दशैं र यसको अर्थ राजनीतिक महत्व

यस बर्षको बडा दशैं हिजोबाट शुरु भएको छ । गतबर्षको दशैंका बेला यस्तै लेख लेख्दै गर्दा देशको अर्थतन्त्रमा तरलताको सन्त्रास, विदेशी मुद्राको अभाव जस्ता कुराहरू थिए । तर यस बर्षको दशैं शुरु हुँदै गर्दा परिस्थिति भिन्न भैसकेको छ । यसबर्ष राज्य ढुकुटीमा विदेशी मुद्रा २१ अर्र्ब छ । बैंकसँग लगानी योग्य रकम थुप्रिएको छ । देशको अर्थतन्त्रको धमनी मानिने बडा दशैं र तिहारको मौसम आउँदा पनि बजार भने तात्नै सकेको छैन । यसलाई कतिपयले नेपालीहरूको उपभोगको सँस्कृति फेरिएको भनेका छन् भने कतिपयले उपभोक्ताको कमि भएको भनेका छन् । यसमा दुबै कुरा अर्धसत्य मात्रै हुन् । नेपाली समाजमा जतिसुकै दशैं फलानो जातको ढिकानो जातको भन्ने अभियान नै चलाएपनि आम नेपालीमा दशैंको न त साँस्कृतिक महत्व घटेको छ न देशको अर्थ राजनीतिको नै महत्व घटेको छ । देशको मुख्य ब्यापारको ४० प्रतिशत कारोबार हुने दशै. तिहारको ब्यापारिक परम्परा अझै बिद्यमान नै रहेको छ ।

यहाँ अर्थतन्त्रको लयलाई विदेशतिर अर्थशास्त्र पढेर आएका सल्लाहकारहरूले धेरै बुझे र ब्याख्या पनि आ आफ्नै बुझाइको हिसाबले गरे । नेपालको समाजिक परम्परा, नेपाली चाडपर्वको महत्व, औसत नेपालीको उपभोगको सँस्कृतिलाई भने उनीहरूले बुझ्नै सकेनन् या चाहेनन् या फेरि नेपाली अर्थतन्त्रलाई नेपाल निरपेक्षतामा लैजान खोजे । नेपालको ब्यापारिक थ्योरीलाई “बिग हाउस थ्योरी” र विकासमा “बिग प्रोजेक्ट थ्योरी” को सिद्धान्त बीना नेपाली अर्थतन्त्र चल्नै सक्दैन भन्ने न्यारेटिभ सेट गर्न खोजियो । यसैको परिणाम हो नेपालको चाडपर्व लक्षित ब्यापारमा निकै असन्तुलन आउन थालेको ।

नेपाली अर्थतन्त्रको बिषेशता भनेको नै मौलिक चाडपर्वसँग अनन्योश्रित सम्बन्ध भएको अर्थतन्त्र हो । नेपाली राजनीतिले सनातन सँस्कृति र परम्परालाई जतिसुकै नास्तिकवाद भन्ने र यस बिरुद्धको अलाप गरेपनि नेपाली अर्थतन्त्रको धमनी भनेको नेपालका मौलिक चाडपर्व, यहाँको परम्परा र सँस्कृति नै हो । यो कुरालाई जोसुकैले जत्रो कालो पर्दा हालेपनि छोप्न सक्दैन । कतिपयलाई नेपाली मौलिक चाडपर्व यसका महत्व र आयामहरू प्रति घृणा होला, पूर्वाग्रह होला तर नेपालको बजार अर्थतन्त्र कुनैपनि हालतमा नेपाली मौलिक चाडपर्वलाई निषेध गरेर अगाडी बढ्नै सक्दैन । नेपालको राजनीति पनि नेपाली परम्परा र यहाँको माटोको बास्ना बिपरित गएर सफल हुन सक्दैन भन्ने कुरा नेपालको विगत तीस बर्षको राजनीतिले देखाइसकेको छ ।

नेपाल साँस्कृतिक, जातिय र भौगोलिक विविधता भएको देश हो । यो कुरालाई बोक्रे रूपमा सहि नेपाली राजनीतिले स्वीकार गरेको छ । तर यसको नेपाली अर्थतन्त्रसँग तादम्यता बसाउन भने सकिरहेको छैन । यहाँ मन्दबिषको माइक्रो म्यानेजमेन्ट गर्दै नेपाली साझा सँस्कृति र परम्परालाई तेरो र मेरो उस्को भन्दै बहिष्कार गराउने जस्ता काम गरेर जातिय तुष्टिकरण, समाजिक वैमन्यश्यताको स्थिति निमार्ण गरिएको छ ।

नेपालको आर्थिक बर्ष साउनबाट शुरु हुन्छ । नेपालका चाडपर्वहरूको शुरुआत पनि साउने सँक्रान्तिबाट शुरु हुन्छ । यहाँ साउनमा पर्ने नागपञ्चमीबाट हिँउद लागेको मानिन्छ । हरेक महिनाजसो पर्ने कुनै न कुनै साँस्कृतिक या धार्मिक चाडपर्वले नेपाली समाजमा अपनत्वको सृजना र विकास गरिरहेको हुन्छ । नेपालको अर्थतन्त्रलाई चलाएमान बनाइरहेको हुन्छ । समय, स्थान बिशेष आदिका आधारमा महत्व दिइएका कारण नै यस्तै चाडवाड या पर्वहरूको समष्टिगत रूपमा महापर्व, महाचाड, साझा चाडको रूपमा बडादशैं र तिहार रहेका छन् । यी चाडहरूमा गरिने खर्चले नेपालको कृषिको, यहाँको आन्तरिक खपतको, उपभोक्ता बजारको ठूलो कारोबार थेगेको हुन्छ ।

तीज नेपाली महिलाहरूको बिशेष पर्व भए झैं दशैं नेपाली परिवारको बर्षमा एकपल्ट सपरिवार साथसाथ हुने सुखदुःख साट्ने मान्यजनसँग भेट्ने आर्शिवाद लिने, बर्षभरिका सबै कामका चापहरू बिर्सेर रमाउने चाड हो । आध्यात्मिक रूपमा देवी आरधाना र पारिवारिक रूपमा परिवारको मिलनको यो चाडले नेपालको यातायात क्षेत्र, आन्तरिक पर्यटन, उपभोक्ता (.लुगाफाटो, जुत्ता चप्पल, मरमसला आदि) बजार, कृषि उत्पादन (माछा, मासु, दुध, घिउ ) आदिको खपतले नेपालको अर्थतन्त्रलाई चलायमान गराउँछ । दशैंतिहारमा चल्ने मानव मेलाले देशभरि नै अर्थतन्त्रलाई चलाएमान बनाउँछ । बर्षभरिका बाह्र महिनामा हुने ब्यापारको ठूलो हिस्सा मात्रै दुई महिनामा हुने भनेको नेपालमा मात्रै हो । संसारका अन्य मुलुकहरूमा यस्तो हुँदैन । यसकारण पनि नेपालमा यी दुई चाडहरूको साँस्कृतिक मात्रै होइन आर्थिक महत्व पनि त्यतिकै रहेको छ ।

नेपालका मौलिक र साझा चाडपर्वहरूको अर्थ राजनीतिको महत्व न त वर्तमान सत्ता सञ्चालकहरूले स्वीकार गर्छन न नेपालको प्रगतिशील भनिने बुद्धिजिवीहरूको ठूलो जमातले स्वीकार गर्छ । वामपन्थीहरूलाई त नेपालका चाडपर्वहरू, यसमा दिइने विदाहरू, मनाइने उत्सवहरूले भत्तति पोल्ने गर्छ । कसरी यी चाडपर्वहरूको उछितो काढ्ने, अपमान गर्ने र कथित क्रान्तिकारी बन्ने भन्ने होडबाजी चलिरहन्छ । जति नेपाली मौलिक चाढपर्वहरूको बिरोधमा बयान ब्याख्या गर्न सक्यो त्यति सम्मानित र पुरस्कृत हुने सम्भावना देखेकाहरूको लागि नेपालमा क्रान्तिको परिभाषा नै नेपाली मौलिक चाडपर्वहरू, यहाँको मौलिक परम्परा र साँस्कृतिक उत्सवहरूको उछितो काढ्नु हो ।

नेपालमा मात्रै होइन संसार मैं मानिसलाई कुनैपनि किसिमको खर्च गर्न बहाना चाहिन्छ । बाहनाले चाहनाको सृजना गर्छ । यसैको आडमा बजार चलायमान हुने हो । पश्चिमाहरूले उनीहरूको चाड क्रिस्मस र नयाँ बर्ष आदिको बाहनामा दिल खोलेर खर्च गर्छन् । इस्लामीहरूले उनीहरूको ईदमा त्यस्तै गर्छन् । त्यहाँका सरकारहरूले पनि यस्तै चाडपर्वमा लामो विदा दिने, भ्रमण सविधाहरू उपलब्ध गराउने गरेको पाइन्छ तर त्यहाँ कुनै बुद्धिजिवीले यो दिनु हुन्न र मनाउनु हुन्न भनेर कोकोहोलो गरेको सुन्न पाँइदैन । तर नेपालमा भने ताइँ न तुँइको कोकोहोलो मच्चाएर नेपाल निरपेक्षताको आँधी ल्याउने प्रयास भैरहन्छ ।

हो हाम्रा यी चाडपर्वहरूको बहाना नै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भएपनि अति महत्वपूर्ण छन् किन नभन्ने ? गैर रैथाने धार्मिक, गैरमौलिक गैर रैथाने साँस्कृतिक पृष्ठभूमि भएकाहरू र नेपालीपनलाई यहाँको साँस्कृतिक परम्परालाई सत्तोसराप गर्नेहरू र न्वारनको बल लगाएर जिन्दगी भरिको अध्ययनको हरेक शब्दशब्द खर्चेर उछितो काढ्नेहरूको पनि चुलो बल्ने वा ब्यापार चल्ने भनेको पनि नेपालका मौलिक रैथाने चाडपर्वहरूको बहानामा नै हो । यो सत्य कसैले चाहेर पनि लुकाउन सक्दैन ।
बर्षभरि जतिसुकै, जस्तोसुकै कर्म गरेपनि जहाँ रहेपनि बर्षको एकपटक त मिठो मसीनो खाने, लूगाफाटो किन्ने, यसो भेटघाट गर्ने घुमघाम गरेर तनमनमा उमङ्ग ल्याउने नेपाली परम्पराले गर्दा देशको समाज, पारिवारिक क्षेत्र, व्यक्तिगत मानसिक क्षेत्र, आन्तरिक पर्यटकीय क्षेत्र, स्वास्थ्य क्षेत्र, यातायात क्षेत्र, उद्योग ब्यापार क्षेत्र सबैतिर सकारात्मक संकेत र उर्जाको काम दशैंतिहारले गराउँछ ।

बर्षदिनमा सकेसम्म एकपटक दशैंको मौका पारेर घर फर्केर आउँने र गाउँघरतिरका हालसँग तरोताजगी गर्ने भन्ने हाम्रो आफ्नै मौलिक परम्परा हो । अघिपछि व्यक्तिगत रूपमा बधाइ शुभकामनासम्म पनि नदिनेहरूले समेत यी चाडपर्वमा बधाई शुभकामना दिने राजनीतिक बाध्यता जस्तो बनेको छ । यसले हरेक नेपालीमा परिवार प्रतिको माया, परिवारको महत्वलाई जिउँदो राखेको छ । राजनीतिक छूवाछूतको न्युनिकरणमा पनि यी चाडहरूले भूमिका निर्वाह गरेका छन् ।

नेपालमा चलाइएका विकासे सँस्कृति नेपाल निरपेक्ष रहेका छन् भन्ने कुरा पछिल्ला दिनहरूमा प्रमाणित हुँदै गैरहेको छ । यहाँ बिग हाउस र बिग प्रोजेक्टका नाममा गरिएको अर्थ राजनीतिले नेपाल दिन दुगुना रात चौगुना माँसिदै र भासिँदै गएको छ । देशका साना उद्यमी ब्यापारीहरू बिस्थापन भएका छन् । देशभित्र कृषिकर्म गर्ने हराउँदै गएका छन् । सानो ब्यापारी बिस्थापन हुँदै गर्दा बिभिन्न सहकारी र बित्तिय सँस्थाहरू टाट पल्टिँदै छन् । गाउँ खाली हुँदैछन् । शहरका सडकपेटी, खोलानाला छेउछाउ कब्जा गरेर यसको प्राकृतिक बहाव समेत अवरोध गराउने काम बनेको छ । शहरहरूमा अनावश्यक जनसंख्याको बृद्धिले शहर प्रदूषित र दुर्गन्धि हुँदै गएको छ । राज्यको ढुकुटी यिनै शहरियाको रोग, भोग र सुविधामा खर्च गरेर राज्यमाथि अध्याधिक भार पारिँदै छ । देश आत्मनिर्भरतातिर होइन परनिर्भरतातिर तीब्र गतिमा दौडिएको छ ।

देशको अर्थतन्त्रको चिन्ता नेपाली सत्तालाई कत्तिपनि छैन भन्ने कुरा खुला सीमा पारिपट्टि गएर किनमेल गर्ने वातारवरण कहिल्यै निरुत्साहित नगर्नुले नै प्रमाणित गरेको छ । देशभित्र रोजगार, राज्यलाई कर, आफ्ना जनताले उत्पादन गरेको वस्तुलाई बजार दिन नसक्ने र नचाहने नेपाली सत्ताले नेपाल र नेपाली सापेक्षतामा काम गरेको छ भन्ने कुनैपनि आधार छैन । यतातिरका बजार सुक्ने र सीमापारिका बजारहरू फुक्दै जाने काम गर्ने सत्ता नेपाली जनताले भोट दिएको त हो तर नेपालीको त हुँदै होइन । यसै सन्दर्भमा यो पङ्तिकारले गतबर्ष दशैंमा लेख लेख्दै गर्दा देशमा आगामी दुई बर्षमा नेपालमा रैथाने ब्यापरी बरिलै भेटिने छन् भनेको कुरा सत्य हुँदै गएको छ । गएको एक बर्षमा मात्रै हजारौं ब्यापारिक फर्महरू बन्द भएका छन् । ९० प्रतिशत बढि साना तथा मझौला ब्यापरिक फर्महरू रहेको नेपालमा बिभिन्न पार्टीका संघसंस्थामा बस्नैका लागि काम नगरेका तर नाम रद्द नगराएका फर्महरूको संख्या पनि हजारौंमा रहेको छ । यसले के प्रष्ट पार्छ भने नेपालको अर्थ राजनीति तहसनहस नै बनेको छ । यतातिर राज्यको ध्यान जान जरुरी छ । दशैं तिहारको बिदाको बखत राज्यसञ्चालक, नीति निर्माता, कार्यकारीहरूले यो बिषयमा राम्रोसँग मनन् गरुन् । नेपालको बिग्रेको अर्थराजनीति, बाढी पहिरोको बिपत्तिले निम्त्याएको अभाव र त्रासदीका बीच मनाउँदै गरिएको यो बडा दशैं २०८१ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक एवं मंगलयम शुभकामना ।

Exit mobile version