सडकबाटै शेयर आव्हान

झण्डै पाँच बर्षदेखि बाँकेमा कागज उत्पादनमा अग्रसर एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडले पहिलो पटक सडकबाट सर्वसाधारणसँग शेयर आव्हान गरेको छ ।

आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको भन्ने मूल नाराका साथ बाँकेको राप्तीसोनारी–२ महेन्द्रपुरमा उद्योग स्थापना गरी केही महिनादेखि उत्पादन समेत सुरु गरेको एक्सिलेन्टले नेपालगन्जको धम्बोझीचोकमा दबाबमूलक प्रदर्शन सहित सर्वसाधारणसँग शेयर आव्हान गरेको हो । ‘बैंकसँग मुख ताकेर उद्योग फष्टाउन सक्ने अवस्था देखिएन’, एक्सिलेन्ट पेपर मिलका अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योगबारे जानकारी दिंदै आफ्ना उत्पादन प्रदर्शन गर्न र कम्पनीको संस्थापन शेयरमा जनसहभागिता वृद्धि गर्न सडकमै आयोजित कार्यक्रममा भने, ‘जनता आफै मिलेर यो उद्योग चलाउने दृढता लिएका छौं ।’ एक्सिलेन्टले उत्पादन गरेका विभिन्न थरी कागज, त्यसका लागि आवश्यक कच्चा पदार्थ सहित शेयर सदस्यहरू धम्बोझीचोकमा आइतबार दिउँसो झण्डै तीन घण्टा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा ऐक्यबद्धता जनाउन आएका नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले सरकारले उत्पादनमूलक उद्योगका लागि सहुलियत कर्जाको सहज उपलब्धतामा जोड दिए । उनले उद्योग मैत्री वातावरण नभएको भन्दै सरकारी नीतिको आलोचना गरे ।

घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले सरकारले उद्योगलाई सहयोगी नीति नबनाउँदा नेपालका उद्योग धन्दा चौपट भएको भन्दै जन स्तरबाटै उत्पादनमूलक क्षेत्रमा सहकार्य गरेर उद्योगधन्दा सञ्चालनमा ल्याउनु पर्ने धारणा राखिन् ।

‘बैंक ब्याज खोर कम्पनीका रूपमा परिणत भए’, कार्यक्रममा बोल्दै एक्सिलेन्टका अध्यक्ष भण्डारीले उत्पादन बढाएर भन्दा कमिशन र ब्याज खाएर नाफा कमाउने नियत राख्दा बैंक तथा वित्तीय संस्थाहरू उद्योग, धन्दा, कलकारखाना मैत्री हुन नसकेको धारणा राख्दै भने । एक्सिलेन्टले बैंक तथा वित्तीय संस्थाको सामान्य लगानी सहयोगमा उत्पादनको ठूलो उपलब्धी हासिल गर्न सक्ने सम्भावना आंैल्याएको छ ।

‘लगानीको अभावले उत्पादनलाई वृद्धि गर्न ढिलाइ भैरहेको छ’, स्थानीय स्तरमै पाइने बाँस, बाँबियो, पराल, गहुँको नल, अम्रिसो, उखुको छोक्रा, कपास लगायतका फाइबरयुक्त पदार्थ प्रशोधन गरी एग्रेसिभ पल्प तयार गरेर दैनिक तीन सय मेट्रिकटन कागज उत्पादनको लक्ष्य राखेको एक्सिलेन्टले हाल दैनिक दुई टन उत्पादनमा सीमित हुनु परेको अध्यक्ष भण्डारीको भनाइ छ । अध्यक्ष भण्डारीका अनुसार, ३२ जनालाई प्रत्यक्ष र ५० जनालाई अप्रत्यक्ष रोजगारीमा जोडिसकेको एक्सिलेन्टले उत्पादन गर्ने कागजबाट रेकर्ड फाइल र पेपर ब्यागका लागि छुट्टै लघु उद्योग सञ्चालन गर्ने सम्भावना औंल्याए ।

‘अब ३० टन दैनिक क्षमताको रिसाइकल उद्योग स्थापना गरी करिब ३ सय जनालाई प्रत्यक्ष रोजगारी र १ हजार बढीलाई अप्रत्यक्ष लाभान्वित गर्ने योजना अगाडि बढाइएको छ’, कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि बैंकिङ्ग क्षेत्रबाट लगानीको ढिलाईले समस्या उत्पन्न भएकाले लगानीकर्ता संस्थापक शेयर धनी जनस्तरबाटै सहभागिता चाहिरहेका छौं ।’

प्रदर्शनमा शेयरधनी सञ्चालक पवित्रा सुब्बा, सरकारी प्रतिनिधिले पनि धारणा राखेका थिए भने सयौंको संख्यामा सर्वसाधारणलाई कम्पनीको विवरण सहितको शेयर आव्हान पत्र वितरण गरिएको थियो ।

Exit mobile version