चुनौतिमै स्वास्थ्य सेवा

गलत स्वास्थ्य नीतिका कारण स्तरीय स्वास्थ्य सेवामा समस्या परेको सम्बद्धहरुले बताएका छन् ।

सरकारले स्वास्थ्य नीतिलाई जनउपयोगी बनाउनुको साटो व्यवसायिक रुपले मात्रै हेरिदिंदा आवश्यकता अनुसारको स्वास्थ्य क्षेत्रले विकास गर्न नसकेको उनीहरुको भनाइ छ ।
मंगलबार स्वास्थ्य पेजको पाँचौं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपालगन्ज चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद थापाले स्वास्थ्यमा समेत मूल्य अभिवृद्धि कर लगाउँदा त्यसको भार उपभोक्तामाथि परेको बताए ।

‘सीमापारी सहुलियत दरमा उपकरणहरु उपलब्ध हुने तर त्यही नेपालीमा जडान गर्नुपर्दा करका कारण कयौं गुणा महंगो भैदिंदा स्वास्थ्य सेवा सहुलियत हुन सकेन’, अध्यक्ष थापाले भने, ‘करोडौं कर तिरेर पनि सरकारले स्वास्थ्य क्षेत्रलाई भने उपेक्षा गर्यो ।’ ‘हामीले तिरेको कर वापत के पाइयो त ?’, डा. थापाको प्रतिप्रश्न थियो, ‘सामान्य सुरक्षा समेत हामीलाई उपलब्ध हुन सकेको छैन ।’

सरकारले सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउन भनिरहेको कुरा फगत नारामात्रै भएको डा. थापाको टिप्पणी थियो ।

कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका निमित्त मेसु डा. कृतिपाल सुवेदीले स्वास्थ्य क्षेत्रका समाचार प्रवाह गरिरहँदा चिकित्सकका हितबाट पनि हेरिदिन आग्रह गरे । ‘सरकारले बिदाका बेला पनि सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाहरुलाई दिएको निर्देशन सुन्दा मिठो लागेपनि त्यसको व्यवहारिक अवस्था हेरिदिनुस्’, डा. सुवेदीको भनाइ थियो ।
स्वास्थ्य पेजका अध्यक्ष प्रिया स्मृति ढकालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका नेपालगन्ज मेडिकल कलेजका संस्थापक÷निर्देशक डा. सुरेश कुमार कनोडियालाई प्रकाशनले सम्मान गर्यो ।

सम्मान ग्रहणपछि डा. कनोडियाले स्वास्थ्य सेवालाई प्रतिस्पर्धी र भरपर्दो बनाउँदै जानुपर्ने कुरामा अझै पनि थप मेहनतको आवश्यकता रहेको औंल्याए । ‘व्यवसायिक आचारसंहितामा रहेर जनताको अपेक्षा सम्बोधन गर्ने कोशिश स्वास्थ्य सेवाबाट हामीले गर्नुपर्छ’, डा. कनोडियाले भने ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी लगायतले शुभकामना दिएका थिए ।

स्वास्थ्य पेजका प्रकाशक प्रियास्मृति ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रधानसम्पादक नवीन गिरीले स्वागत गरेका थिए ।

Exit mobile version