किन कमजोर बन्दैछन् नेपालीका हाड ?

“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?”

पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उहाँहरु उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, कामविशेष तथा बानी व्यहोराको तुलना गर्ने गर्नुहुन्छ । उहाँहरुका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदैछैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।

घाँसका भारीसित लड्दा होस् या रुखबाट भूइँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उहाँहरु सुनाउनुहुन्छ । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्तमात्रामा पुग्ने उहाँहरुको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनौ भैँसीको घिउ र दूध एक्लैले खाने रे । त्यसकारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उहाँहरुको अनुभव छ ।

नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत हुनुहुन्छ । के नेपालीका हाड पाकापुस्ताहरुका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्नुहुन्छ । अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् । ‘हिस्ट्र टेकिङ’ गर्दा उहाँहरु सामान्य रुपमा लडेको मात्र बताउनुहुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ । jmpc

Exit mobile version