देशमा आजः ८ बजे ८ खबर

  1. सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् ।
  2. रेसुङ्गा विमानस्थलमा एक महिनादेखि लगातार उडान अवरुद्ध भएको छ । खराब मौसमका कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।
  3. रास्वपा सभापति रवि लामिछाने पक्राउ परेसँगै उनको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ । लामिछाने चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनलाई शुक्रबार प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।
  4. विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
  5. नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् ।
  6. मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको छ।
  7. म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिएपनि करिब दुई तिहाई मात्र भौतिक प्रगति भएको छ।
  8. गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन्।
Exit mobile version