कहिले मन्त्री नियुक्त होलान् आदेश ?

बाँके बाट लुम्बिनी प्रदेशसभामा सांसद रहेका जनता समाजवादी पार्टी नेता आदेश कुमार अग्रवाल मन्त्री नियुक्तिको पर्खाइमा छन् । दलका नेता भण्डारीलाल यादवले सिफारिस गरेको दुई महिना नाघिसक्दा पनि अग्रवालको मन्त्री नियुक्ति हुन नसकेको हो ।

पार्टी सम्बद्ध स्रोतका अनुसार, मुख्यमन्त्री चेत नारायण आचार्यले सय दिन नपुग्दै मन्त्री मण्डल पूर्णता दिनलाई बारम्बार कोशिश गरिरहँदा पनि काँग्रेसको आन्तरिक विवादको चेपुवामा अग्रवाल परेका छन् । ‘पटकपटक मन्त्रीमण्डल गठन, पुनर्गठनको पक्षमा मुख्यमन्त्री हुनुहुन्न’, उनको सचिवालय स्रोत भन्छ, ‘एकैपटक मन्त्रीमण्डललाई पूर्णता दिने मुख्यमन्त्रीको योजनालाई काँग्रेसले साथ नदिंदा समस्या आएको हो ।’ खासगरी सरकार गठन ताका साना दललाई दुई वटा मन्त्रालय दिन भएको समझदारी अनुसार एमालेले जसपालाई र काँग्रेसले लोसपा तथा नागरिक उन्मुक्ति पार्टी मध्ये एकजनालाई मन्त्री ल्याउने पूर्व समझदारी रहेको सम्बद्ध नेता बताउँछन् । ‘त्यसक्रममा एमालेले जसपालाई दिने टुंगो लगाएर संसदीय दलका नेताबाट आदेश कुमार अग्रवालका नाममा प्राप्त भैसकेको छ’, सम्बद्ध स्रोत भन्छ, ‘तर, काँग्रेसले दिने नाममा उनीहरू बीच नै एकमत हुन सकेन ।’

काँग्रेसमा सुरुदेखि नै दुई धार बलियोसँग सतहमा देखिन्छ । निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरी नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीलाई मन्त्री सिफारिस गर्न चाहन्छन् । जुन कुरामा नागरिक उन्मुक्ति पार्टी भित्रै यसअघि मन्त्री बनेका धर्म चौधरी दोहोरिन चाहन्छन् । उनीहरू बीचको विवादमा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण भने लोसपाका नेता सन्तोष कुमार पाण्डेयलाई मन्त्री नियुक्ति दिलाउन प्रयासरत् छन् । ‘उनीहरू बीचको यो गञ्जागोलमा एउटा नाम आउन सकेन’, सम्बद्ध स्रोत भन्छ, ‘त्यसबीच काँग्रेसका तर्फबाट मन्त्री नियुक्त बादशाह कुर्मीले राजिनामा दिएपछि त्यो ठाउँ पनि अझै खाली छ ।’

गत साउन ९ गते गठित लुम्बिनी प्रदेश सरकारको वर्तमान मन्त्रीपरिषद्मा मुख्यमन्त्री सहित एमालेका ५ र काँग्रेसका ३ मन्त्री छन् । काँग्रेसबाट २ र २ जना साना दलबाट मन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिन प्रयासरत् आचार्य आगामी साता आफ्नो सरकारको सय दिन मनाउँदैछन् ।

हाल मुख्यमन्त्री आचार्यले सम्हालिरहेका सामाजिक विकास मन्त्रालय, वन, आन्तरिक मामिला र युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्ति हुन बाँकी छ ।

Exit mobile version