बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थाल्नुभएको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उहाँको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या छजना भन्दा बढी भएका छन् । उनीहरु व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउनुहुन्छ ।

“फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो”, उहाँले भन्नुभयो, “यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।” विन्दुले पाँच वर्षअघि १० कट्ठाबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताउनुभयो । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उहाँको भनाइ छ । ल्याउँदा पनि फूल तथा मालामा अनिवार्य क्वारेन्टिन गरिनुपर्ने उहाँको माग छ ।

खजुरा गाउँपालिका–३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्वीन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आउनुभएको छ । सयपत्री फूलखेतीबाट वार्षिक रु पाँच लाख बढी मुनाफा लिने गरेको उहाँले बताउनुभयो । कोहलपुर नगरपालिका–३ निवासी विष्णु चौधरी र वडा नं १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूल खेती गर्नुभएको छ । विष्णुले फूल खेतीबाट वार्षिक रु पाँच लाख आम्दानी लिने गरेको बताउनुभयो । सुरुका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उहाँको भनाइ छ । सात कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिक स्तर उकासेको छ । उहाँले प्रतिकिलो रु पाँच सयको दरले फूल र माला प्रतिगोटा रु एक सय २० मूल्य निर्धारण गर्नुभएको छ ।

जानकी गाउँपालिका–३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि विगत तीन वर्षदेखि एक कठ्ठामा फूलखेती गरेर एक क्वीन्टल फूल उत्पादन गर्दै आउनुभएको छ । अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उहाँको भनाइ छ । फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ ।

Exit mobile version