बहस

अयोध्यामा रामललाको प्राण प्रतिष्ठा भै रहेको बेला, ९० प्रतिशत भन्दा बढी सनातन हिन्दु धर्मावलम्बी भएको देश नेपालले पनि सँग सँगै उत्सव मनाइरहेको छ । अयोध्याको सबै भन्दा नजिक रहेको नेपाली शहर नेपालगन्जले यो उल्लासको आनन्द भव्य रूपमा लिइरहेका दृश्य घर घर गल्ली गल्लीमा देख्न पाइन्छ । उत्सवको साथ साथै नेपालगन्जलाई अवसर छ । एउटा भव्य र दिव्य अवसर – प्रभु श्रीरामको नगरी अयोध्यालाई महादेवको नगरी कैलाश सँग जोड्ने ।


भगवान शिवको बासस्थान भनिएको कैलाश पर्वतको यात्रा गर्ने विभिन्न मार्ग भए पनि नेपालगन्जबाट सिमीकोट हुँदै हिलसाको बाटो सबैभन्दा छोटो, सुरक्षित र सुविधा सम्पन्न रहेको छ । महँगो भिषा फीस, हवाई जहाज र हेलिकोप्टर समेतको महँगो यात्राले गर्दा करोडौं श्रद्धालु कैलाश दर्शन गर्न बाट वञ्चित रहदै आएका छन् ।

 नेपालगन्ज र कर्णाली प्रदेशले मिलेर यो बाध्यताको अन्त्य गर्न सक्छन् र कैलाशको साक्षात्कार सामान्य आय भएका मानिसलाई समेत गराउन सक्छन् । यो अभियानको चार स्तम्भ छन् –

१. सुलभ र सजिलो कर्णाली राजमार्ग

२. सिमीकोट देखि लिमी उपत्यकाको लाप्चासम्मको सुलभ मार्ग

 ३. लाप्चामा कैलाशको शक्ति अनुभूति गराउने एउटा दिव्य र भव्य मन्दिर 

४. भक्तजनको लागि उचित बासस्थान र स्वास्थ्य पूर्वाधार । 

यो बाहेक समय दिन नसक्नेलाई हवाई मार्गबाट कैलाश दर्शनको सम्भावना माउन्टेन फ्लाइट मार्फत छंँदैछ ।


कैलाशको परिक्रमा गर्न शायद सबैलाई सम्भव नहोला तर दर्शन पक्कै सम्भव छ । तीर्थाटन सँग जोडिएको हुन्छ पर्यटन । तर, आज प्रभु श्रीरामको पुनः आगमनको दिन कुरा अध्यात्मको गरिन्छ । पर्यटनको कुरा यहीँ फेरि अर्को दिन गरौंला ।


भनिन्छ कलियुगमा ‘हरि ने आपन रूप छिपायो, गुरु दीपक लै मोहिं दिखायो ।’ अब शिवभक्तहरूलाई आवश्यकता छ गुरूको जसले शिवसँग साक्षात्कार गराउँछन् ।


जय श्रीराम ।
हर हर महादेव ।

Exit mobile version