करिब २० करोडसम्म लागत अनुमान गरिएको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन आज बिहीबारबाट आध्यात्मिक महोत्सव गरिने भएको छ । आध्यात्मिक महोत्सवको तयारी पूरा भएको बुधबार मूल समारोह समितिको सचिवालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
बाँके र आसपासका क्षेत्रका व्यक्तिहरूको निधनपछि दाहसंस्कारका लागि ब्यहोर्नु परेको समस्या समाधान गर्ने उद्देश्यले बैकुण्ठधाम निर्माणको परिकल्पना गरिएको भन्दै आयोजकले त्यसमा सघाउनका लागि आग्रह गरेका छन् ।
‘बैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन आयोजना गर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ’, नेपालगन्जको रामलीला मैदानमा आध्यात्मिक महोत्सव आयोजना हुने जानकारी दिंदै पत्रकार सम्मेलनमा संयोजक डा. सुरेशकुमार कनोडियाले भने, ‘कार्तिक ३० गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थित ढंगले सञ्चालन गर्न २ हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने १ सय १० बढी उपसमिति गठन गरिएको छ ।’
डुडुवा–५ सिधनियाघाटमा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीबाट कार्तिक ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा भागवत प्रवचन हुनेछ । महोत्सव तथा भागवत वाचनका बीचमा इच्छुक भक्तजनहरूबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, रुद्री पूजन जस्ता अनुष्ठानसमेत गर्ने गरि व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
आयोजकका अनुसार, महोत्सवको पहिलो दिन २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भहुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उद्घाटन गरिने छ ।
‘महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सव स्थललाई पूर्णरूपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, विश्रामस्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पण्डालको व्यवस्था गरिएको छ’, आयोजकले जानकारी दिएका छन्, ‘महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरूलाई मर्यादा अनुसार रथारोहण देखि बिशेष सम्मान प्रदान गरिने छ ।’
‘महोत्सवको तयारीकै क्रममा दाताहरूबाट दान प्राप्त हुने क्रम पनि सुरु भइसकेको छ । अहिलेसम्ममा ४९ लाखबढी संकलन भइसकेको छ’, आर्थिक समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ ।’
‘गैरनाफामुलक र वैकुण्ठधाम निर्माणको प्रमुख उद्देश्यसहित गठन भएको वैकुण्ठधाम सिधनियाघाटले प्रस्ताव गरेको धामनिर्माणमा सबैको योगदानको अपेक्षा गरिएको छ’, आध्यात्मिक महोत्सवमा यज्ञ व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले भने ।
‘डुडुवा गाउँपालिकाले बैकुण्ठधाम बनाइसकेपछि अरूले किन बनाउनुपर्यो भन्ने प्रश्न अहिले उठेको छ, तर डुडुवाले बनाएको संरचना र हामीले बनाउने संरचना बिलकुलै फरक हुनेछन्,’ डा. कनोडियाले भने ‘बैकुण्ठधाम निर्माणको लागि हामीले १४ कठ्ठा जमिनको बयाना समेत गरिसकेका छौं, हुन त यो जग्गा अपर्याप्त नै हो, वरिपरीको अरू जमिनलाई पनि बैकुण्ठधामको नाममा ल्याउने प्रयासमा छौं ।’