सुरु भो वैकुण्ठधाम आध्यात्मिक महोत्सव

प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आयोजना भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवको पहिलो दिन महोत्सवस्थल रामलिला मैदानबाट शोभा कलशयात्रा निकालिएको छ ।

बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहितको शोभा कलशयात्रा निकालिएको थियो ।

शोभा कलश यात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका प्रचार–प्रसार संयोजक हेमन्त कर्माचार्यले बताए ।

कर्माचार्यका अनुसार, कलशयात्रा समापनसँगै महोत्सव उद्घाटन हुँदैछ । महोत्सवमा संगीतमय कथा वाचनका लागि नेपालगन्ज आएका वाचन शिरोभणनी पं दीनमन्धु पोखरेल शोभायात्रामा समेत सहभागी थिए ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव हुन लागेको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

महोत्सव अवधिको हरेक दिन उबिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले बताए । उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।

Exit mobile version