अहिले नेपालगन्जमा बैकुण्ठधाम नाम दिएर राप्ती नदिको किनारमा दाहसंस्कार गर्ने ठाउँ बनाउन समाजका अगुवाले आध्यात्मिक महोत्सव आयोजना गरेका छन् ।
यो संसारको सबै जीव मानिस पशुपंक्षी, किरा माकुरा, जलचर जन्मे पछि सबै मर्न पर्छ । यो कुरा सबैलाई थाहा छ । तरपनि, मानिस जीवन भरी दुई छाकको र शरीर ढाक्नको लागी दुनियाँ हत्कण्डा अपनाएर आफन्त साथी ईस्टमित्रको चित्त दुखाएर लडेर बाझेर ठगेर सम्पत्ति आर्जन गर्छ । जीवनको उत्तरार्धमा न सम्पत्ति भोग्न सक्छ न प्रयोग नै गर्छ । शरीर भरी रोगको घर लिएर आखिर सम्पूर्ण सम्पत्ति अनि छाडेर जान्छ ।
एकदिन त जाने हो संसार छाडेर
पिंजडा तोडेर संसार छोडेर !
दाजु दिदी पढ्न बाहिर बस्ने घरको ठुलो मै थिएँ, एसएलसी दिएर फुर्सदको बेला थियो । गाउँमा कोही परलोक गए मलामी जाने चलन थियो । मलामी जान गाउँमा केटाकेटी महिला डराउने भएर जान दिदैन थे । टाढा खोलामा बोकेर लाने यातायात पनि न हँुदा प्रायःमलामी युवा अधबैसेहरु हुन्थे । त्यसपछिका दिनमा मलामी जाँदाको थुप्रै कुराहरु सम्झना छ ।
मलामी न ०१ .
हाम्रो पहाड घर पारी मूल बाटोमा खडा बुङ्चे दर्जीको घर छ । हाम्रो मामा गाउँबाट बसाई सरेर आएकाले हामी मामा भन्थ्यौं । माइती गाउँबाट आएको हुनाले आमाले पनि माया गर्नु हुन्थ्यो । मसिनको जमाना न हुँदा उसको बुवाले हाम्रो हजुरबुबाको हातले नै दोहोरो बिट बनाएर दौरा सिउँथे रे आमाले सुनाउनु हुन्थ्यो । उ बेला युवा माझ खेतको घानको काम सकेपछि मनोरञ्जनको लागी हाइजम्प, ढुङ्गा फाल्ने प्रतिष्पर्धा हुन्थ्यो । मामा केटाकेटी नै रहेछन् कसैले उक्साएको भरमा न्वारान देखिको बल निकालेर स्वास रोकेर २२ हात पर हाम फालेछन् । जागे कमजोर सिलाई परेछ । मामाको कट्टुको ईजार चुट्टिएर नाङ्गै । खडा खडा नाङ्गै भएकाले त्यस दिन उप्रान्त उनको नाम खडा बुङ्चे नाम रह्यो । सुधुर पश्चिमको पहाडमा भन्दा पूर्व पहाडमा दलितको अलि इज्जत हुने रहेछ उ बेला त्यही भएर नागरिकतामा पनि मन बहादुर दर्जी लेखि दिए छन् । सुधुर पश्चिममा भए मने दमाई लेख्थे होला । क्षेत्रीहरुले साइनो लगाएर बोल्ने त कुरै भएन । पूर्वमा हामी मामा नै भन्थ्यौं ।
राई गाउँमा हुर्दिएको दर्जी पुर्खाको पेसा सिलाउले र बाजा बजाउने दुबै जानेको । खुकुरी सधै भिर्ने । रक्सी खाने । विवाह मेलामा झगडा गर्ने उनको बानी नै थियो । तीन भाई छोरालाई गाउँ भरीको गोठाला राखेका उनी आफु बालीमा लुगा सिलाउने । माइजु उनको हेल्पर । रक्सी खाएर झगडा नगरेको दिन हँुदैनथ्यो । गाउँका डन थिए । उनले लुगा न सिलाईदिए चाडबाड नै खल्लो । त्यसैले कसैले केहि नगर्ने ।
एक दिन आफ्नै घरमा आगो लगाए । गाउँले आएर निभाए । फेरि सबैले सहयोग गरेर घर बनाइदिए । जीवनको उत्तारार्धमा मागेर खाए । दैनिक झगडा गर्ने । एक दिने बिते । अरुण नदीमा दाहसंस्कार गर्ने कुरा भो । लाश बिसाउन हुँदैन भन्ने चलन छ कुदाएर खोला पुर्याउनु पर्ने । जसोतसो खोला पुर्याए । दाउरा खोजे जलाए । अब शुरु भो खडा बुङ्चेको कथा । उसले २२ हात हाम फालेको देखि उसको खुकुरीको कथा । छुरी न भेट्दा उ आफ्नै खुकुरीले छोराको कपाल खौरेको । खादबारी बाह«बिसे एकादशीमा खुकुरी झिकेर फौदारी गरेको सबै कहानी सुनाउन थाले । मुख छुचो भए पनि गाउँको लुगा सिलाउने अभाब टारेको थियो । बाजा बजाई दिन्थ्यो । बुढापाकाको चिन्ता थियो, अब कसले गर्छ छोरा साना छन् ।
मलामी –०२
म स्कूलमा जुनियर रेडक्रसको अध्यक्ष थिएँ । हामीसँग बिरामी बोक्न स्टेचर बनाएको थियौं । एक दिन स्टेचर माग्न आए बसन्तको आमा बिमारी काठमाडौ लाने रे ! एयरपोर्टसम्म लैजान स्टेचर चाहिएको रहेछ । रेडक्रसकर्मीको नाताले हामी बिद्यार्थी पनि गयांै । घरबाट एयरपोर्टसम्म स्टेचरमा ल्यायौ । एयरपोर्ट नजिकको कटहरको बोट मुनी सितलमा राखेको थियो । उ बेला तत्कालिन शाही नेपाल बायु सेवा निगम प्लेन चल्ने समयमा आएन । उहाँलाई म भाउजू भन्थे त्यही कटहरको रुख मुनि प्राण गयो । माल्दाई पश्चिम तिर भोजपुरको देउराली तिर फर्केर लामो स्वास तानेर मन बलियो बनाए । बिष्णु बहादुर बडा बा बुहारी को बियोगमा ! रोए । छोराछोरी आफन्त बैध गाउँका सबै रोए । साना छोराछोरी छोडेर भाउजु परलोक गैइन ।
‘गाई आज कसले लग्यो नि बाच्छा छुटाई कन
पोथी पासो परी मरिछ नि बच्चा नहुर्काई कन’
राष्ट्रकवि माधव प्रसाद घिमिरेको गौरी शोक काब्यको यो श्लोक मेरो मानस पटलमा घुमिरह्यो ।
तामाङ परम्परा अनुसार, डाडामा लगेर जलाई अर्को दिन दाहसंस्कार भो । उहाँहरुको अरुपनि परिवारका सदस्यको त्यहाँ माने बनाउने चलन हुँदो रहेछ ।
मलामी –०३
त्यो बेला म महेन्द्र मोरङ क्याम्पसमा आईकम पढ्दै थिएँ । हाम्रो छिमेकमा अच्यूत रिजाल दाजुको घर थियो । हामी सबै अल्लारे थियांै । हाम्रो अभिभावक उहाँ नै हुनु हुन्थ्यो । हाम्रोमा नहकुल दाजुको बिबाह गर्ने भनेर सबै आफन्त भेला भएका थियांै । हप्ता दिनपछि बिबाह थियो ।
दाई काम विशेषले झापा जानु भएको रहेछ, फर्कंदा राती ९ बजे तिर टन्कीसुनुवारीमा रोकेर राखेको ट्याङ्करमा बाइक ठोकेर दाई बित्नु भो । १८ बर्ष पछि दाईको छोरा भएको थियो । बाबु बर्ष दिन न पुग्दै दाई बित्नु भो । म कलेजबाट फर्कदा घर भरी मान्छेको रुवाबासी । अगाडी चौरमा सेनाको ठुलो ट्रक रोकेर राखेको आर्मीहरु उभिएका थिए । दाईको साला सरोज खनाल दाई झापा चार आलीमा तत्कालीन शाही नेपाली सेनाको मेजर हुनुहुन्थ्यो । खबर पाउनासाथ सेनाको दलबल सहित आउनु भएछ । कोशी अस्पतालमा पोष्टमार्टम पछि शव घर ल्याइयो । सप्तकोशी चतरा लैजाने कुरा भो । मेजर सालाले भिनाजुको शवमा दागबत्ती पोले । सबैले उहाँको हिम्मतको प्रशंसा गरे । सानैमा बुवा बितेका सबै भाईलाई उहाँले नै अभिभावकत्व दिनु भएको थियो । सरकारी ओभरसियरको जागिर कर्मचारी आन्दोलन गर्ने हुंदा गिरिजाप्रसाद कोइरालाको पहिलो सरकार २०५० सालमा निलम्बन गरिदिएको थियो । त्यस पछिका दिन ठेक्कापट्टा गर्नु हुन्थ्यो । जीवनमा कहिल्यौ न बिर्सने गरि रिजाल दाजु बित्नु भो । रिजाल परिवारमा बज्रपात पर्यो । छिमेकाको नाताले हामीलाई पनि उहाँको अनुपस्थिति सधै कमी महशुस भो । एउटा असल दाजु छिमेकी अभिभावक गुमाउनुको दुख अहिले पनि बिराटनगर पुग्दा महशुस हुन्छ । दाजु बितेपछि बिराटनगर छोड्नु भएकी भाउजु ५÷७ बर्षमा हर्ट अट्याक भएर बित्नु भो । संयोग म काठमाडौ मै थिएँ । थाहा पाउनासाथ फुपुको छोरा पदम बुढाथोकीसहित आर्यघाट पुगें । भाउजुको शरीर जलिसकेको थियो । मेरो पूर्र्वजन्मको उहाँहरुसंगको सामिप्यता होला दुबै जनाको मलामी बनें ।
मलामी –०४
कहिलेकाहीँ जीवनमा न सोचेको कुरा हुन्छ । भाग्य जसले लेख्यो उसले मात्र जान्दछन् । नियति जसले भोग्छ उसैलाई थाहा हुन्छ । वैदेशिक यात्रा असफल भएपछि म पुनः नेपालगन्ज आएँ । केहि असन्तुष्टि केहि भाग्यबाद केहि आफ्नै कमजोरीले गर्दा जागीरको सेकेन्ड ईनिङ शुरु भो । बेलायत बस्ने काका हजुरबुबाको सन्तान हरी दाईलाई क्यान्सर भो भन्ने कुरा बर्षदिन अघि नै थाहा थियो । जर्मन नागरिक बेलायतमा एरोनोटिकल ईन्जिनियर आर्थिक रुपले सम्पन्न उहाँलाई उपचारमा कुनै कसर बाँकी थिएन । जीवनको अन्तिम अबस्थामा मानिसले आफ्नै घर आँगन खोज्दो रहेछ । बिचारले कम्युनिष्ट उहाँ खासै धर्ममा रुची नराख्ने । तर उहाँको अन्तिम ईच्छा चाहिं अस्तु गङ्गामा बगाउने रहेछ ।
सानामा आमा बुवा समाजबाट सुनेको हुनु पर्छ । बाल मनःस्थितिमा अडिएको कुराले मान्छेलाई जीवन भर डोर्याउछ । गङामा अस्तु बगाए स्वर्ग गइन्छ भन्ने चेत बसेको थियो होला । अब बेलायती डाक्टरले ‘नो’ भनेपछि उहाँ आयुर्वेदिक औषधिको लागी राम देव कहाँ पुग्नु भएछ । जीर्ण भै सकेकोले उसले नि अन्तै जिम्मा लगाई दियो । लावण्यै आयुर्बेदिक औषधालय – लखनउ । अब उहाँको र मेरो कर्म यहाँ आएर जोडियो ।
सुदूरपूर्वमा जन्मेको म जागिरको लागी नेपालगन्ज आएँ । उहाँ पढाईको लागी जर्मनी बेलायत अनि जागिर बिहाबारी छोरा जन्माएर जीवनको रक्षा लागी अन्तिम स्वास लिन नेपालगन्जबाट १८० किमि मेरो नजिक भारतको लखनउ आउनु भो । उहाँ मलाई नै खोज्दै आए जस्तो भो । उहाँको जीवनको अन्तिम साथी म र भतिज प्रल्हाद बन्यांै । भाग्य कसले देखेको छ ? को मान्छे जिवनको कुन मोडमा काम लाग्छ । पूर्वबाट हस्पिटलमा साथ दिन कोही आउन नसक्ने नजिकको म उहाँको सेवामा खटिएँ । पूर्व जन्मको मेरो र उहाँको हिसाब केहि बाँकी थियो होला म निस्वार्थ उहाँको सेवामा लागी समर्पित भएँ ।
पेटको क्यान्सर दुखाई धेरै थियो । बालुवा भुटेर खुब सेकि दिन्थें म । कर गरेर खाना खुवाउँथे । कुनै बेला दुखाई कम भएको बेला तिमीले सारै माया गर्यौे मलाई । दाजु भाई यस्तो बेला काम आउँदो रहेछ भन्नु हुन्थ्यो । उहाँलाई क्यान्सरले गलाउँदै लगेछ । उहाँ बर्बराउने प्रायः पेशागत कुरा गर्ने । ईन्जिनियरिङ ईकोनमिक्स थाहा छैन भन्दै कसैलाई गाली गर्नु हुन्थ्यो । ट्याम्के पहाडको उचाइ यति प्लेन यो हाइटबाट ल्यान्ड गर्ने ।
कहिले घरका कुरा मरेका पुरानो परिवारको कुरा गर्न थाल्नु भो । हंस उढेर जान्छ भन्थे हो झै लाग्यो । एक रात उहाँले मलाई न छोड्नु पालो पालो गरे सुत भन्नु भो । माघको जाडो शितलहर खुबै परेको थियो । झन्डै १५ दिन जतिको अस्पतालको बसाई न सुत्ने न खाने कुनै समय मिलेको थिएन । रातको पहिलो १ बजे सम्म म बसें । उहाँ हअ हअ आईया मात्रा भन्नु हुन्थ्यो । त्यसपछि भतिज प्रल्हादलाई उठाएर म सुतें । के सुत्नु म निदाएँ । हामीले दुबै बेड जोडेको थियौ ताकी उहाँलाई नि भरोशा होस भनेर ।
भतिजको पालोमा २ बजे तिर उहाँले ‘भगवान मलाई लिन आए अब तिमी सुत’ भन्नु भएछ । महिना दिनको थकाई उ पनि निदायो । बिहानको ४ बजे म ब्यूझँदा चकमन्न बिना अवाज कोठामा एक प्रकारको सुन्यता थियो । भतिज दाईको साइड तिर थियो । मैले बोलाए बोल्नु भएन । भतिजलाई उठाउन भनें पलेटी कसेर घोप्टिनु भएको रहेछ । टाउको बाङिएर उठ्यो । तब डर लाग्यो । म डाक्टर बोलाउन गएँ । डाक्टरले मनिटर जोडेर हेर्यो । टिटटिट मनिटर एकोहोरो करायो । अब त कन्फर्म नै भो ।
हामीले परिवारमा जानकारी गरायौ । उहाँ जर्मन नागरिक भएको कारण नेपाल ल्याउन भिसाको समस्या हुने भो । दाह संस्कार उतै गरिने भो । लखनउको घाटमा नाताले भाई भएकाले मैले दाग बत्ती दिएँ । म उहाँ प्रति करुणा प्रेम र भारी मन लिएर नेपालगन्ज आएँ ।
मलामी –०५
बाँकेको खजुरा ‘सी’ गाउँमा कमल प्रधान भने पछि सबैले सम्मान गर्ने ब्याक्ति हुनुहुन्थ्यो । गोरो, मझौला कदको ,लामो सेतो दारी पालेको सेतै कुर्ता सुरुवाल लगाएर साइकल चडेर हिढ्ने भद्र पुरुष देखिनु हुन्थ्यो । खोटाङ खार्पाबाट सुनसरी झरेर बाँके खजुरा पुनर्बास कम्पनीमा जागीर खान आएको पोख्रेल कम्पनी म्यानेजरको बहिनी बिवाह गरेर यतै बस्नु भएछ ।
२०३६ सालमा सरकारले गाउँ फर्क अभियान चलाएको बेला गाबिसको प्रधानपन्च बनाई दिएको रहेछ । अलि पढेको बाहुनको छोरा राजा मनपराउनु हँुदोरहेछ । देशमा राजा बिरोधि बढिसकेको थिए । केही महिना अन्तरिम प्रधानपन्च चलाएपछि चुनाब भो प्रगतिशील भन्नेहरुले जिते । तर उहाँ कमल प्रधान भनेर अन्तिमसम्म चिनिनु भो । कालन्तरमा छोराछोरी जन्मे पढे बढे बिहादान भो । उहाँलाई नि बुढौलीले छोएको थियो । जीवनको उत्तरार्धमा कान्छा छोराले हेरचाह गरेकै थिए । पोख्रेलनी आमा लामो समय देखि पार्किन्सनको रोगी हुनु हुन्थ्यो । बा ! आमैको साहारा हुनु हुन्थ्यो । तर अचानक बा ! लाई ज्वरो आयो सन्चो भएन भन्ने सुनें । मेरो मित्र सतिश निरौलाको पारिवारिक सम्बन्ध भएको कारण मेरो त्यो घरसंग घनिष्ठता थियो । मामा ऋषि मेरो साँझ बिहानको बात मार्ने साथी हुनुहुन्थ्यो । कोरोनाको समय थियो । सबैले कोरोनानै शंका भो । बाको ज्वाई नाती दुबै डाक्टर । घरमै साधारण चेकजाँच भो । क्यान्सर अस्पताल खजुरा लैजाने कुरा भो । कोराना नै पुष्टि भएपछि नेपालगन्ज ल्याईयो । केहि दिनमा बा बित्त्नु भो ।
कोरोना कस्तो पापी जिन्दगी भरी धर्म गरेका पोख्रेल बा जीवनको अन्तमा सेतो ब्यागमा प्याक भएर कसैले मुख समेत देख्न न पाएर चितामा जल्नु भो । मलामी छुन न मान्ने । बाहुन पढ्न न मान्ने । कपाल काट्ने कोहि भएन । म भर्खर कोरोना भएर तंग्रिएको थिएँ । मैले नै डवल मास्क र भाइजर लगाएर कपाल काटी दिएँ ।
सारा सी गाउ बासी मलामी आए । राजबादी भए पनि कहिल्यै प्रगतिशीललाई नराम्रो गर्नु भएन भने र चर्चा गरे ।
मलामी–०६
काठमाडौ बत्तीसपुतलीका रैथाने गोपाल उपाध्याय जागीरको शिलशिलामा बाँके खजुरा आए छन् । सानैमा बा आमा बितेका एक्लो फकिर झै थिए । भएको सम्पत्ति भान्जालाई दिए छन् ।त्यसपछि झन् मन मौजी भएँ । आफु पुनर्बास कम्पनीको अमिनको जागिर खाएर बाँके नै बसे । बाहुनको छोरा जागिरे कम्पनीका हाकिमसंग म्यानेजरले आफ्नी भान्जी जोडा बाधी दिए । निधारमा जे लेखिएको तेहि भो । यतै बिबाह गरे बसे ।
मित्र किरण ढकालको आमा कोरोना कालबाट नै थलिदै आउनु भएको थियो । फोक्सोको समस्या भए पछी नेपालगन्ज देखि लखनउ मेदान्तासम्मका उपचार सबै असम्भव भए । आमालाई च्याप्यो भनेपछि साथी भाई सबै जम्मा भयौं । हस्पिटल लैजाने कि घर मैं अन्तिम श्वास फेर्न दिने बिषयमा छलफल भए । ‘प्रोसेस ह्यान्डिलिङ’ घर मै सजिलो भन्ने भए पछि अक्सिजन जोहो गर्न लागियो । रातीको १ बजे किरण सतिश निरौला र म भएर अक्सिजन सिलिन्डर ल्याइयो । अब रात भरी पुग्ने भो भनेको आमाले ४ बजे संसार छोड्नु भो । पुसको अन्तिम नेपालगन्जमा शितलहर शुरु भै सकेको थियो । बाहिर हिढ्न नसक्ने चिसो । दाउरा बास गाडी जोहो गर्न पर्यो । राप्तीको किनारमा शव जलाइयो । क्रिया पुत्री नै बेहोस होलान झै जाडो छ थियो । शितलहरसंंगै जुध्दै कस्टपूर्ण तरिकाबाट काजक्रिया सकियो ।
जीवनपछि मृत्यु अनिवार्य छ । सबै मानिस आफ्नो सम्मानित मृत्यु होस् भन्ने चाहान्छ । राम्रोसंग अन्त्येष्टि होस् अन्तिम यात्रामा गएका मलामीलाई खुवाउन पियाउन सकियोस् । आफन्तजनले राम्रोसंग काजक्रिया दान गरिदिए बैकुण्ठबास हुन्थ्यो भन्ने चाहान्छ । जीवनको उत्तरार्धमा बिना पीडा दुख यो शरीर पन्चतत्व मंै विलिन होस् भन्नको लागी दान धर्म गर्छ । बिडम्बना चाहे जस्तो हुन्छन । हिन्दुहरुको १६ संस्कार मध्ये मृत्यु संस्कार पनि एक हो । पुनर्जन्ममा बिश्वास गर्ने हिन्दुहरुको सबै कुरा बिधिसम्बत नै छ । त्यसैलेपनि बैकुण्ठधाम सिधनियाघाटको अभियानले सार्थकता पाउनु आवश्यक छ ।
‘नमो नारायण’