‘तपाई आफ्नो जन्मदिनको खुशीयाली आउनुस् हाम्रा छात्रसँग रमाउनुस् र उनीहरूलाई पारिवारिक माहोलको वातावरण दिनुस्’, दुई बर्षदेखि आमाको माया छात्राबास सञ्चालन गर्दै आएका आशिष अग्रवालले भने, ‘सामाजिक योगदानका भरमा हामी ठूलो अभियानमा जोडिएका छौं ।’
जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको आमाको माया छात्राबासले शनिबार आफ्नो दोस्रो बार्षिकोत्सव मनायो । जहाँ सहभागी समाजका विभिन्न तह, तप्काका प्रतिनिधिहरूले खुलेर आर्थिक, भौतिक, नैतिक लगायतका समर्थनहरूको घोषणा गरे । ‘तमाम आर्थिक मन्दीका बीच पनि तपाईहरूको असल मानवीय सहयोगले सात जनाबाट सुरु गरिएको छात्राबासमा अहिले १८ जना बालकले शिक्षा पाइरहेका छन्, आश्रय पाइरहेका छन्’, छात्राबासका अध्यक्ष अग्रवालको आव्हान थियो, ‘यसैबर्षदेखि ३० जना बालकलाई आश्रय दिने हाम्रो योजनामा तपाईहरू जोडिनुस् ।’
खजुराबाट आएका युवा अभियन्ता आशिष चौधरी लगायतका तमामा उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका प्रतिनिधिहरूले प्रतिबर्ष २५ हजार रूपैयाँ दिएर बालकको शिक्षा दायित्व बहन गर्नेदेखि मासिक खाद्यान्न सहयोगसम्मका घोषणा गरिरहेको बार्षिकोत्सवमा कोषाध्यक्ष दिपिका थापाले आर्थिक विवरण प्रस्तुत गरिन् । ‘तपाईको एकएक रूपैयाँ र एकएक दाना अन्नको सहयोग खेर जान दिंदैनौं’, अध्यक्ष अग्रवाल भन्दै थिए, ‘सामाजिक र मानवीय क्षेत्रको यो महत्वपूर्ण योगदानमा जोडिएर साझेदार बनिदिनुस् ।’
छात्राबासलाई अप्ठयारो पर्दा हरेक समस्यामा साथ दिंदै आएका उद्योगपति कन्हैयालाल वैद्य, अध्यक्ष अग्रवाल, छात्राबास सञ्चालक संस्था जनजाति कल्याण आश्रमका अध्यक्ष कृष्णादेवी पाण्डेय लगायतले सहयोगी मनको सम्मानमा दाताहरूलाई रुद्राक्ष माला पहिराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वनपासी कल्याण आश्रम भारतका राष्ट्रिय महासचिव योगेश वापटले मानवीय कार्यको नेपालमा भैरहेको अनुशरणप्रति खुलेर प्रशंसा गरे ।
कार्यक्रमको सहजीकरण गर्दै आश्रमका सञ्चालक भावना सापकोटाले सहयोगी मनहरूको भावनाले आमाको माया छात्राबास सुचारु हुन सकेको र सफलिभूत ढंगले अगाडि बढिरहेको बताइन् । विपन्न वर्गका बालबालिकाहरूका लागि जनजाति कल्याण आश्रम नेपालले चितवनमा छात्राहरूका लागि र बाँके लगायत देशका ११ ठाउँमा छात्रहरूका लागि आमाको माया छात्राबास सञ्चालन गरिरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।
छात्राबासमा स्थानीय निकायको सिफारिसमा विपन्न तथा जेहेन्दार बालबालिकालाई स्वयंसेवक मार्फत सूचिकृत गरेर आश्रमसम्म ल्याउने गरिएको छ । उनीहरूको आश्रयदेखि शिक्षासम्मको सम्पूर्ण व्यवस्थापन सामाजिक योगदानमा आधारित रहेर जनजाति कल्याण आश्रमको संयोजनमा आमाको माया छात्राबासले उपलब्ध गराउँदै आएको अध्यक्ष अग्रवालले बताए ।