भेटिएनन् बालबिज्याईकर्ता

नौबस्ता सुधार गृहबाट भागेका तीन बाल बिज्याइकर्ता अभैm फेला परेका छैनन् । बाँकेको बैजनाथ गाउँपालिका ३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याइकर्ता गत कात्तिक २६ गते भागेका हुन् । यसअघि पनि उक्त बालसुधार गृहबाट बालबिज्याईकर्ता भागेका थिए । गत बर्ष पुस १५ गते २३ जना बाल बिज्याइकर्ता सुधार गृहबाट भागेका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको सुधारगृहबाट बालबिज्याईकर्ता भागेपछि सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । जिल्ला प्रशासन स्रोतका अनुसार आज शुक्रबार समितिले प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउँदैछ । सुरक्षा व्यवस्था हुँदाहुँदा बालबिज्याईकर्ता भाग्नुमा सुरक्षा कमी रहेको प्रतिवेदनले औंल्याएको स्रोतले बताएको छ । ‘केही सुरक्षाकर्मी कारवाहीमा पर्न सक्छन्’, प्रशासन स्रोतले भनेको छ ।

प्रहरीले फरार बालबिज्याईकर्ता खोजीका देशभरका विभिन्न प्रहरी इकाइमा पत्राचार गरिसकेको छ भने जिल्लाबाट पनि प्रहरी परिचालन गरेको छ । सुधार गृहमा बस्नुपर्ने अवधी धेरै भएका बालबिज्याईकर्ता भागेपछि गरिएको खोजीको प्रयास अझै सफल भएको छैन ।

बालसुधार गृहको सी ब्लका राखिएका बाँकेका २१ बर्षिय, दाङका २१ बर्षिय र प्यूठानका १९ बर्षिय बालबिज्याइकर्ता फरार भएका थिए । बाँकेका २१ बर्षिय कर्तब्यज्यान उद्योगमा, दाङका २१ बर्षिय ज्यान मार्ने उद्योग र कर्तब्य ज्यान उद्योगमा र प्यूठानका १९ बर्षिय जबरजस्ती करणी र कर्तब्य ज्यान उद्योगमा बाल सुधारगृहमा रहेका थिए । उनीहरूले अदालतबाट कैद फैसला भएर १० देखि १५ बर्ष कैद भुक्तान बाँकी रहेको थियो ।

नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिज्याइँकर्ता थिए । उनीहरूलाई छुट्टाछुट्टै ब्लकमा राखिएको थियो, एउटा ब्लकमा २५ जना थिए, २५ जना बाल बिज्याइँकर्तामध्ये कात्तिक २६ गते तीन जना भागेका हुन् ।
बालसुधार गृहमा नेपाल प्रहरी सइको कमाण्डमा ३९ जना, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाले सुरक्षा दिन्छन् ।
यसै बन्दीहरू भागेको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाकेले एक समिति पनि बनाएको जनाएको छ ।
नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरिकै कारागारमा कैदी बन्दीको सख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । डुडुवा स्थित बाल सुधार गृहमा बालबन्दी बीच झडप भइरहेपछि १८ वर्ष माथिका सबैलाई कारागारमा राख्ने अवधारणाका साथ नौबस्ता स्थित क्षेत्रीय कारागारमा बालसुधार गृह स्थापना गरिएको थियो । सोही क्षेत्रीय कारागारभित्र रहने गरी नौबस्ता बाल सुधार गृह सञ्चालनमा छ ।

Exit mobile version