एडभोकेसी फोरम नेपालद्धारा बाँकेको डुडुवा स्थित आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ्य शिविर राखेको छ । एडभोकेसी फोरमले जिल्ला बालन्याय समिति, बाँके जिल्ला अदालत अदालत जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगन्ज संगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरेको हो ।
सुधार गृहमा रहेका बालकहरूलाई छाला सम्बन्धि रोगको संक्रमण भएकोले एडभोकेसी फोरम समक्ष शिविर संचालनका लागी अनुरोध भएको थियो । सो बमोजिम फोरमको संयोजनमा जिल्ला बालन्याय समितिको बैठक बसी स्वास्थ्य शिविर संचालन गर्ने निर्णय भएको थियो । बालन्याय समितिको बैठकमा एडभोकेसी फोरमले औषधीको ब्यवस्थापन मिलाउने, भेरी अस्पतालले चिकित्सक सेवा उपलब्ध गराउने गरि जयेन्दु बालसुधार गृहमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय भएको थियो ।
सुधार गृहमा रहेका बालकहरूको अनुरोध र जिल्ला बालन्याय समिति बाँकेको निर्णय बमोजिम बिहीबार जयेन्दु बालसुधार गृह आसमानपुर बाँकेमा रहेका बालकहरूको लागी एडभोकेसी फोरम नेपालले स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सशस्त्र प्रहरी उपरिक्षक बलका प्रहरी उपरिक्षक बिमल डाँगी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक आयुष प्रसाद जोशी, बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगर लगायतको उपस्थिति रहेको थियो ।
एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले संचालन गरेको कार्यक्रममा जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जिल्ला बालन्याय समितिको निर्णय बमोजिम स्वास्थ्य शिविर संचालन गरिएको ब्यहोरा उल्लेख गर्दै बालन्यायको कार्यान्वयनका लागि सबैले आ आफ्नो स्थानबाट योगदान पुर्याउनु पर्नेमा जोड दिनु भएको थियो । सुधार गृहमा हाल २७० जना बालकहरू रहेका छन् । जस मध्ये अधिकांश बालकहरूलाई छाला रोगको संक्रमण रहेको छ ।
स्वास्थ्य शिविरमा भेरी अस्पताल नेपालगन्जका वरिष्ठ छाला रोग बिशेषज्ञ डा. अस्मिता गौतम, नर्सिङ्ग अधिकृत शिला शर्मा र अस्पताल नर्सिङ्ग निरिक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य जाँच गरेका छन् ।
बालसुधार गृहमा हाल २७० जना बालकहरू रहेका छन् । जसमा ५ जना भारतिय नागरिक छन् । जसमा १४ बर्ष मुनीका कोही पनि बालक छैनन ।
१४ बर्ष देखि १५
बर्षसम्मका २९ जना, १६ देखि १८ बर्षसम्मका १२१ जना, १८ बर्ष पुरा भएका ८९ जना बालक छन् । २७० जना मध्ये पुर्पक्षका क्रममा १२४ जना र फैसला भएका १४६ जना बालकहरू रहेका छन् ।
स्वास्थ्य परिक्षणको पहिलो दिनमा १०५ जना बालकहरूको स्वास्थ्य परिक्षण र औषध बितरण गरिएको छ । २७० जना बालकहरू मध्ये अधिकांशलाई स्वास्थ्य समस्या देखिए पछि ७ गतेका लागी पनि स्वास्थ्य परिक्षणको कार्यलाई निरुन्तरता दिईने छ ।
स्वास्थ्य जाँचका क्रममा बालकहरूमा बढी मात्रामा लुतो, दाद, इक्जेमा, फङ्गल इन्फेक्सन, डण्डीफोर लगायतका समस्या देखिएको छ । २७० जना मध्ये झण्डै ९९ प्रतिशतमा छाला रोगको समस्या रहेको भनी बालकहरूले गुनासो गरेको बिहिवार साँझसम्म पनि औषधी उपचार गरेर नसकिए पनि अर्को दिनका लागी पनि स्वास्थ्य शिविर राख्नु परेको हो ।