नेपाल र भारतका मानसिक स्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक सहभागी मनोचिकित्सा सम्बन्धि राष्ट्रिय सम्मेलन नेपालगन्जमा आयोजना गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १० औं राष्ट्रिय सम्मेलनको विहीवार उद्घाटन गरेका हुन् । सम्मेलन उद्घाटन कार्यक्रममा डा. पोखरेलले मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाइएको बताए ।
मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वयात्मक ढंगले काम गर्न जरुरी भएकोमा भन्दै स्वास्थ्य सचिव डा. पोखरेलले पुनः स्थापना गृहलाई सुधार गर्न आवश्यक भएको औल्याए ।
नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष डा. रवि शाक्यले लागुपदार्थलाई कानूनले प्रतिवन्ध लगाएपछि सेवनकर्ता लागुपदार्थबाट टाढा हुन्छ भन्ने पुरातन साेंच भएको भन्दै यसमा वैज्ञानिक अवधारणा ल्याएर वैज्ञानिक उपचार पद्धति अवलम्वन गर्नुपर्नेमा जोड दिए । उनले लागुपदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा पर्ने असरको उपचारका विभिन्न विधामा सहयोग पुया¥उन र पुनःस्थापन गर्न सम्मेलनले सघाउ पु¥याउने जानकारी दिदै भारतबाट विज्ञ मनोचिकित्सक प्रोफेसरहरू सम्मेलनमा सहभागी भएको बताए ।
मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिंदै मानसिक रोगका विरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिएका थिए । लागुपदार्थ दुव्र्यसनलाई पनि मानसिक स्वाथ्यको रूपमा हेर्ने र सम्मेलनमा मनोचिकित्सकहरूको वैज्ञानिक ज्ञान र अनुभव आदान प्रदान गरिने जानकारी उनले दिए ।
‘८५ प्रतिशत मानसिक रोगका पीडित उपचारबाट बञ्चित हुनुहुन्छ, समाजमा चेतनाको अभाव छ र सामाजिक गलत अवधारणा विद्यमान छ’ मनोचिकित्सक डा. अधिकारीले भने । हरेक दिन नेपालमा २० जना व्यक्तिले आत्महत्या गरेको सर्वेक्षणमा देखिएको उल्लेख गर्दै डा. अधिकारीले १० देखि २० प्रतिशत व्यक्तिमा मानसिक रोगको सम्भावना रहने औल्याए ।
सम्मेलनमा नेपाल चिकित्सक सङ्का अध्यक्ष डा. अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रूपमा अघि आएको धारणा राखे ।
नेपाल मनोचिकित्सक सङ्घको १० औं राष्ट्रिय सम्मेलनका मूल समितिका महासचिव वरिष्ठ मनोचिकित्सक डा. प्रभात सापकोटाले दुई दिने सम्मेलनमा ९३ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । डा. सापकोटाले लागु औषध सेवनलाई रोगको रूपमा बुझाउन नसकिएको औल्याउँदै सम्मेलनमा त्यसबारे बहस हुने बताए । मनोचिकित्सक डा. तनवीर अहमद खानले लागु औषध दुव्र्यसनको समस्या बढ्दै गएको उल्लेख गर्दै यसको सम्वन्ध मानसिक स्वास्थ्यमा कसरी परिरहेको छ भन्ने विषयमा सम्मेलनको छलफल केन्द्रित हुने जानकारी दिए ।
सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सम्मेलनमा अनुभव प्राप्त चिकित्सकबाट गरिने प्रस्तुतिकरणले सरकार र यसमा काम गर्ने साझेदार संस्थालाई मार्गप्रशस्त गर्ने बताए । सम्मेलनका क्रममा लाइभ टाइम एचिभमेण्ट अवार्डबाट डा. नवराज कोइरालालाई सम्मान गरिएको थियो । सम्मेलनमा देशभरबाट करिव २०० मनोचिकित्सक, अनुसन्धानकर्ता र भारतबाट २० जना मनोचिकित्सक सहभागी छन् ।
आज शुक्रवारसम्म चल्ने सम्मेलनले मनोचिकित्सा र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण दिशानिर्देश गर्ने सीएमसीका प्रादेशिक संयोजक गैरेले जानकारी दिए । ‘लतलाई व्यवहारिक समस्याका रूपमा मात्रै हेर्न गरिएको विद्यमान अवस्थामा यो रोग हो र यसलाई उपचारको दिशामा अग्रसरता आवश्यक छ भन्ने सन्देश यस सम्मेलनले प्रष्टसँग दिनेछ,’ गैरेले दैनिक नेपालगन्जसँग भने । मानसिक स्वास्थ्यका अनुसन्धानकर्ता गैरे आज बैदेशिक रोजगारीले सिर्जना गरेको मानसिक समस्यासँग जोडिएर आफ्नो सोध प्रस्तुतिकरण गर्दैछन् ।