समयमै उपचार सुरु गरेपछि पछिल्ला बर्षहरू एचआइभी संक्रमित महिलाहरूले स्वस्थ बच्चा जन्माउन थालेका छन् ।
एचआइभी संक्रमित महिलाबाट संक्रमित नै बच्चा जन्मने सम्भावना पनि रहन्छ । तर, समयमै चेकजाँच गराएर औषधी सेवन गर्दा स्वस्थ बच्चा जन्मिने गरेका हुन् ।
भेरी अस्पताल नेपालगन्जमा गत आर्थिक बर्ष २०८०÷८१ मा ७ जना एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएका छन् । त्यस अघिल्लो आ.व.मा ५ जना संक्रमितले स्वस्थ बच्चा जन्माएका थिए ।
जिल्लामा गत आ.व. २०८०÷०८१ मा १ सय १ जना एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक छ । जिल्लामा १० हजार ७ सय ५९ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
त्यसअघिको आ.व. २०७९÷०८० मा १ सय ९ जनामा संक्रमण देखिएको थियो । उक्त आ.व.मा १७ हजार ३ सय २८ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका थिए ।
हाल भेरीको एआरटी सेन्टरबाट अहिले ५ सय ८८ जनाले नियमित सेवा लिइहेको छन् । अघिल्लो आ.व.मा एआरटी सेवा लिनेको संख्या ५ सय ५६ थिए । एआरटी सेवा लिने बाँके बाहेकका जिल्लाका पनि रहेका छन् ।