ऐतिहासिक तथा पुरातात्विक स्थल पश्चिम नवलपरासीको रामग्राम–१८ स्थित पण्डितपुरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ । यसअघि भू–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन सुरु गरिएको हो । यो उत्खनन २१ दिनसम्म चल्ने जनाइएको छ ।
यहाँ भेटिएका पुरातत्व वस्तुको वैज्ञानिक परीक्षणमा छैटौँ शताब्दीका संरचना भेटिएकाले विस्तृत रूपमा उत्खनन सुरु गरिएको र त्यसका लागि आवश्यक बजेट सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि विनियोजन गरेको रामग्रामका नगर प्रमुख धनपत यादवले बताउनुभयो । पण्डितपुरको दक्षिण पश्चिम क्षेत्रमा गरिएको भू–भौतिक सर्वेक्षणका क्रममा जमिनमुनि गोलाकार आकारमा रहेको संरचना फेला परेको क्षेत्रमा उत्खनन सुरु गरिएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भास्कर ज्ञवालीले बताउनुभयो ।
पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावली स्थलका रूपमा दाबी गरिँदै आएको छ । विसं २०६८ देखि २०७२ सम्म पुरातत्व विभागले परम्परागत प्रविधिको सहायताले गरेको उत्खननका क्रममा यस क्षेत्रमा आठौँ शताब्दीका भाँडा, इनार र इँटा भेटिएका थिए ।