मेरो नेपालगन्ज, ग्रेटर नेपालगन्ज

प्रादेशिक संरचनासंगै भेरी राप्ती र कर्णाली अञ्चलका १५ जिल्ला अर्थात मध्यपश्चिम बिकास क्षेत्र भन्ने पनि कोल्याप्स भयो, मध्यपश्चिमको हेडक्वार्टर नेपालगन्ज भन्ने रहेन ।

साविकको सम्बन्धलाई लत्याउदै साइनो बिनाको लुम्बिनी प्रदेशको पछिल्लो छेउ जिल्लाको सदरमुकाम बन्न पुग्यो नेपालगन्ज ।

मध्यपश्चिम बिकास क्षेत्रको हेडक्वार्टरको हैसियतमा रहँदा नेपालगन्जमा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका क्षेत्रीय, अञ्चल संरचनाहरु कोही सुर्खेत कोहि बुटवल त कोही धनगढी तर्फ लागे ।

साविकको मध्य तथा सुदुरपश्चिमको अवसरका लागि गन्तव्य बन्ने गरेको नेपालगन्ज एकाएक सुनसान बन्न पुग्यो । अलि अलि स्थलमार्ग हुँदै जहाज चढ्न नेपालगन्ज पुग्ने कर्णाली र सुदुरपश्चिमेलीहरु पनि नेपालगन्जलाई आफू चढेको जहाज मुनि पारेर बाइ बाइ नेपालगन्ज भन्दै आकाशबाटै धनगढी र सुर्खेत गर्न थाले । स्वभाविक हो सुगम र सर्वसुलभता मानवीय आचरणनै हो ।

आर्थिक,अवसर र रोजगारमा आधिपत्य जमाएको नेपालगन्ज यो अवस्थामा पुग्ला भन्ने सामान्य अनुमान पनि नलगाई लुम्बिनी प्रदेशको राजनीतिक बिभाजनमा आत्म समर्पण गर्ने बाँके बर्दियाका विभिन्न राजनीतिक दलका तत्कालीन नेतृत्वमा दूरदृष्टी नभएकै हो । या सबै लम्पसार थिए भनेर औंला उठाउने ठाउँ अहिलेको नेपालगन्जको अवस्थाले दिएको छ । तर, नेपालगन्जवासी औंलानै उठाउँदैनन् र पो !

अब नेपालगन्ज बस्ने जो कोहिले पनि जात, धर्म ,लिङ्ग ,भेग, क्षेत्र र समुदाय छाडेर ‘मेरो नेपालगन्ज’ भनेर संकल्प नगर्दासम्म नेपालगन्ज शहर नभएर गाउँ उन्मुख हुने खतरा देखिएको छ । नेपालगन्जलाई देशकै ठूलो शहरका रुपमा कायम राख्न हामी नेपालगन्जियाको सभ्य मानवीय कृयाकलाप जरुरी छ । राजनीतिक रुपमा तत्कालीन नेपालगन्ज त नपाइएला तर समृद्ध नेपालगन्ज बनाउन र पाउन सकिन्छ । देशकै अब्बल शहर नेपालगन्ज बन्न सक्छ, अझैपनि ।

अब नेपालगन्जको सम्पत्ति भनेको नेपालगन्ज पश्चिम नेपालको ‘गेट वे’ रुपमा अवसर पाउनु हो । पश्चिम नेपालको पर्यटन बजारलाई नेपालगन्ज बसेर गतिविधिसंगै नियाल्न पाउनु हो । विश्वको सबै भन्दा ठूलो जनसंख्या भएको भारतको सबै भन्दा ठूलो प्रदेश उत्तर प्रदेशको छिमेकी हुनु पाउनु हो ।

पश्चिम नेपालमा रहेका प्रकृतिक सुन्दरता, जैविक विविधता, नदि नाला, बन जंगल धार्मिक धरोहर, हुलाकी सडक ,यहाँका जाती भेषभुषा कला र संस्कृतिहरु हुन । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा रहेका सबै खाले पर्यटनको बजार नेपालगन्ज हो । विश्व भरिका हिन्दुहरुको गन्तव्य मानिएको कैलाश मानसरोवर पुग्ने सबै भन्दा छोटो मार्ग पनि नेपालगन्ज सिमिकोट ( हुम्ला ) हो ।

योसंगै आन्तरिक हवाई उडानमा पोखरा जोडेको नेपालगन्जले अर्को सहर जनकपुर र बाह्य उडानमा भारतको दिल्ली र देहरादूनसम्म हवाई सम्बन्ध कायम गर्न सकेको दिन नेपालगन्ज काठमाडौ र पोखरा पछि देशको तेश्रो पर्यटकीय र व्यस्त सहर हुने छ । अनि नेपालगन्ज कहिल्यै रुनु पर्दैन, पछाडी फर्कनु पनि पर्दैन ।

सबै खाले रिस, राग, वैभव, असहिष्णुता, विभेद त्यागेर ‘मेरो नेपालगन्ज’ भनेर एक ढिक्का भएर लागौं ‘ग्रेटर नेपालगन्ज’ समीप छ । त्यसका लागि मलाई नेपालगन्जले के दियो होइन, मैले नेपालगन्जलाई के दिन सक्छु भन्ने भावनाको विकास अहिलेको आवश्यकता हो ।

जय नेपालगन्ज

जय पर्यटन !

Exit mobile version