अस्पताल पस्यो राजनीति

झण्डै तीन सातादेखि उपचार छाडेर स्वास्थ्यकर्मीहरू आन्दोलित भैरहँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समस्यामा राजनीतिक दलले औपचारिक प्रवेश
पाएको छ । सत्तारुढ मुख्य दुई ठूला दल, नेकपा एमाले र नेपाली काँग्रेसले मेडिकल कलेजका सवालमा आफ्ना धारणा संयुक्त धारणा संयुक्त रूपमा सार्वजनिक गर्दै समस्या समाधानका लागि ‘व्यवस्थापन पक्ष र टेड यूनियनहरू गम्भीर नरहेको’ बताएका छन् ।

राजनीतिक दलको प्रभावमा कर्मचारीहरू आन्दोलित रहेको व्यवस्थापनको आरोप लागिरहँदा मुख्य दुई ठूला दलले भने ‘तत्काल दुवै पक्ष गम्भीर भई समस्या समाधानमा लाग्न’ दुवै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । काँग्रेस
बाँकेका सभापति नारायण प्रसाद गौडेल र एमाले बाँकेकी इन्चार्ज शान्ति ढकालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी समस्या समाधानका लागि दुवै पक्षलाई दबाब दिएका हुन् ।

आन्दोलन चर्काउन केही राजनीतिक दलहरू नै सक्रिय रहेको अस्पताल व्यवस्थापनले लगाउँदै आएको छ । ‘स्वास्थ्यजस्तो संवेदनशील ठाउँमा खुलेआम राजनीतिक दलले जस्तो नाराबाजी गरेर इमरजेन्सीमा उपचारार्थ बिरामीहरूलाई समेत तर्साउने काम भैरहेको छ’, व्यवस्थापनको गुनासो छ, ‘छलफल र संवादका माध्यमबाट समस्या समाधान गर्ने कुरामा निरन्तर कर्मचारीका पक्षमा छौं ।’ व्यवस्थापनको आरोप छ, ‘राजनीतिक दलको नेतृत्वमा बसेकाहरू मेडिकल कलेजमा बर्षौदेखि त्यही आडमा खान पल्किएका कारण यो अवस्था आएको हो ।’

संयुक्त आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले निरन्तरको आन्दोलन संवादकै माध्यमबाट व्यवस्थापनले समाधान खोज्न चाहेमा सम्भव रहेको बताउँछिन् । व्यवस्थापनबाट वार्ताका लागि खटिएका उपनिर्देशक श्याम
कुमार शर्मा पनि संवादका माध्यमबाट समाधान खोज्ने कुरामा आफुहरू सकारात्मक रहेको बताउँदै आएका छन् ।

अनि किन आन्दोलन लम्बिरहेको छ ? कर्मचारीहरू भन्छन्, ‘आन्दोलनमा लाग्नेको कतिपयको व्यक्तिगत इगो र व्यवस्थापनको अडानले ठूलो नोक्सानी हुने गरी समस्या बल्झिरहेको छ ।’ दैनिक ८ सय बढीले स्वास्थ्य उपचार पाइरहेको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा इमरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प छ ।

Exit mobile version