गत पुस ७ गते १३ बर्षीय किशोरीलाई बलात्कार भएको भन्दै बाँके नरैनापुरका दुई जना विरुद्ध पुस ७ गते इलाका प्रहरी कार्यालय भवगानपुरमा उजुरी पर्यो । पुस ३ गते राती मेला हेरेर फर्किने क्रममा किशोरीलाई दुई जनाले बलात्कार गरेको उजुरी पीडित पक्षले प्रहरीमा दिएको थियो । पुस ८ गते किशोरीको भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य परीक्षण भएको थियो ।
गत असार १५ गते ०८१ असार १५ गते अपहरण तथा शरीर बन्धक तथा बलात्कार गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिका–१९ का १९ वर्षीय किशोर विरुद्ध पीडित पक्षले ०८१ असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । किशोरलाई प्रहरीले असार १९ मा नियन्त्रणमा लिएर जिल्ला अदालतमा साउन ९ गते अपहरण तथा शरीर बन्धक तथा बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरे । अदालतले किशोरलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठायो ।
१३ वर्षीया बालिकालाई ०८१ वैशाख २ गते बलात्कार गरेको भन्दै बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ का १८ वर्षीय किशोर विरुद्ध पीडित पक्षले ०८१ वैशाख ३ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दियो । आरोपितलाई प्रहरीले वैशाख ३ गते गिरफ्तार गरेयो । पीडितको स्वास्थ्य परीक्षण पछि वैशाख २७ गते जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भयो । वैशाख २८ गते अदालतले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।
१५ वर्षीया बालिकालाई अन्तिम पटक माघ १४ गते बलात्कार गरेको भन्दै बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज उपमनगरपालिका–१ मा बस्ने १५ वर्षीय बालक विरुद्ध पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । प्रहरीले माघ २० गते किशोरलाई नियन्त्रणमा लिएर सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा फागुन ११ गते जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्यो । अदालतले किशोरलाई बाल सुधार गृहमा पठायो ।
सात वर्षीया बालिकालाई गत बर्ष पुस २५ गते बलात्कार गरेको भन्दै बैजनाथ गाउँपालिका–५, जीगाँउ बस्ने ३५ वर्षीय व्यक्ति विरुद्ध पीडित पक्षले गत बर्ष माघ ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दियो । आरोपितलाई प्रहरीले माघ ४ गते गिरफ्तार गरे । अदालतमा पेश गरिएपनि उनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भयो ।
माथि उल्लेखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । यस्ता दर्जनौं बालिका तथा किशोरी माथि भएको यौन हिंसाका बाँकेमा भएको घटना इन्सेक नेपालगन्जले अभिलेखिकरण गरेको छ । जिल्लामा भैरहेको बालिका माथि भैरहेको मानवअधिकार उल्लंघन तथा यौन हिंसाका घटनाको तथ्यांक सार्वजनिक गर्दै इन्सेक नेपालगन्ज प्रमुख भोला महतले चिन्ता व्यक्त गरेका छन् ।
इन्सेकले सन् २०२४ मा मानव अधिकार उल्लंघनका १ सय ९८ वटा घटना अभिलेखिकरण गरेको छ । जसमध्ये महिला मानवअधिकार उल्लंघनका घटना मात्रै १ सय ९ वटा रहेका छन् । इन्सेक नेपालगन्ज प्रमुख महतका अनुसार, बालिका हिंसाका ३२, बाल अधिकार ३९ घटना सन् २०२४ मा इन्सेकले अभिलेखिकरण गरेको छ ।
सन् २०२४ मा बालबालिका बेचबिखनका घटना पनि इन्सेकले अभिलेखिकरण गरेको छ ।
गत बर्ष माघ १८ गते १४ र १५ बर्षीया दुई बालिका बचेबिखन तथा ओसारपोसार मु्द्दामा इलाका प्रहरी कार्यालय कोहलपुरले तीन जना पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस्तै, गत असोज २८ गते १५ बर्षीय किशोरीलाई मानवबेचबिखन तथा ओसार पोसार गरेको भन्दै एक युवा फत्राउ परे । पक्राउ परेका युवालाई अदालतले मंसिर ८ गते पुर्पक्षका लागि कारागार पठाएको छ ।