बाइस वर्षपछि बन्यो ध्वस्त प्रहरी कार्यालय

सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओवादी विद्रोहीका निशाना बनेको बर्दिया भुरिगाउँस्थित प्रहरी कार्यालय झण्डै २२ वर्ष पछि पुनः निर्माण गरिएको छ । २०५८ सालमा बम विष्फोटबाट पूर्ण रूपमा भत्किएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँको भवन पुनःनिर्माण गरिएको हो ।


लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३ करोड ७८ लाख ४१ हजार रकम लागतमा बर्दिया ठाकुरबाबा नगरपालिका २ मा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन निर्माणकार्य पुरा भएसंगै लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले मंगलबार उद्घाटन गरे ।


लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक कडायतले प्रहरीहरूले विगतका दिनमा भन्दा आगामी दिनमा आम नागरिकलाई सेवा दिन र नागरिकका पीडा कम गर्ने खालका काम गर्न निर्देशन दिए । ‘सुन्दर भवनबाट मनको सुन्दरमात्रै भएर हुनन कानुनको सुन्दर काम हुन जरुरी छ,’ प्रहरीले आफ्नो कार्यशैली परिवर्तन गर्न जरुरी रहेको भन्दै कडायतले भने ।


इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या थियो । थुनुवा हिरासत कक्षसहितको भवन निर्माण भएसंगै यस क्षेत्रका स्थानीयबासीन्दाका लागि प्रहरीसंग सम्बन्धित मुद्दा पनि यहिँबाट संचालन हुने भएको छ । ‘अब सदरमुकाम गुलरिया जानुपर्ने समस्याको अन्त्य भएको छ,’ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक सुधीरराज शाहीले भने ।


साबिकको बगनाहा गाविस जुडपानीमा रहेको इलाका प्रहरी कार्यालय बजार क्षेत्रको विकाससंगै झण्डै ३ दशकअघि भुरिगाउँ बजारको सिँहवाहिनीमा ऐलानी जग्गामा भवन बनाएर बसेको थियो । त्यही इलाका प्रहरी कार्यालयको पक्की भवन २२ वर्षअघि द्वन्द्वकालमा तत्कालिन बिद्रोही पक्षले बम बिस्फोट गराएपछि भत्किएको थियो । त्यतीबेला भुरिगाउँबाट प्रहरीहरू निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गुल्म ठाकुरद्वारा गएर बसे, केहि वर्षपछि शान्ति सम्झौता पश्चात स्थानीयको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय स्थापना भएको थियो ।


द्वन्द्वकालमा भत्किएका सबैजसो इलाका प्रहरी कार्यालयहरू पहिले नै बनिसकेका थिए । तर पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया निकुञ्ज नजिक ठाकुरबाबा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँको भवन २२ वर्ष अघि द्धन्द्धकालमा बम विष्फोटबाट भत्किएपछि प्रहरीहरू साँघुरो घर भाडामा लिएर बसिरहेका थिए ।


द्वन्द्वकालका बेला २०५८ सालमा साविकको नेउलापुर गाविस हाल ठाकुरबाबा नगरपालिका २ मा रहेको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको भवन बम बिष्फोटपछि भत्किएको थियो । प्रहरी कार्यालयको नाममा आफ्नै जग्गाधनी पुर्जा भएपनि नेपाल सरकारले भवन निर्माणका लागि समयमै बजेट विनियोजन नगर्दा वर्षाैँदेखि भुरीगाउँका प्रहरीहरू जिर्ण भवनमा भाडामा बस्न बाध्य थिए ।


झण्डै ५ वर्षअघि इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँको नाममा १० कठ्ठा जग्गाको पुर्जा पनि बनिसकेपछि लुम्बिनी प्रदेशको सहयोगमा गतवर्ष असोज महिनादेखि भवन निर्माण कार्य सुरु भएको थियो । नवनिर्मित भवनमा महिला र पुरुष बन्दीका लागि छुट्टै कोठा, कार्यालय प्रमुखको निवास, संचार कक्ष, महिला तथा पुरुष व्यारेक, भान्छा, शौचालय, हिरासत कोठा बनेका छन् ।


पहिले बनेको भुरिगाउँको इलाका प्रहरीको भवन ऐलानी जग्गामा थियो । अहिले इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँको नाममा पुर्जासमेत प्राप्त भएको जग्गामा भवन निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँगको निरन्तर प्रयास पहल र समन्वयले गर्दा लुम्बनी प्रदेशबाट भवनका लागि बजेट छुट्टाइएको र डिपिआर पश्चात गत वर्ष असोज महिनादेखि निर्माणकार्य सुरु भएको बर्दिया प्रहरी प्रमुख शाहीले बताए ।

बर्दियामा अझै बेघरबार प्रहरी

तत्कालिन माओवादी विद्रोहीले ध्वस्त पारेका प्रहरी कार्यालयहरूको पुनः निर्माण बर्दियामा सकिएको छ ।
द्वन्द्वकालमा ध्वस्त पारिएको बर्दिया भुरिगाउँस्थित प्रहरी कार्यालय झण्डै २२ वर्ष पछि पुनः निर्माण गरिएसँगै माओवादी विद्रोहले निशाना बनाएका प्रहरी कार्यालय पुनः निर्माण सकिएको हो । द्वन्द्वकालमै ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा यतिका समय लाग्दा अन्य धेरै ठाउँमा बनाउनुपर्ने प्रहरी कार्यालय बन्न सकिरहेको छैन ।
अब सबै प्रहरी आफ्नो घरमा बस्ने भएका छन् त ? बर्दिया प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुधीरराज शाहीले दैनिक नेपालगन्जको प्रश्नमा भने, ‘छैनन्, अझै धेरै ठाउँमा घर बनाउन बाँकी छ ।’ बेहाल अवस्थामा रहेका प्रहरी चौकीहरूको निर्माणका लागि बर्दिया प्रहरीले प्रस्ताव पठाएको जनाएको छ ।

प्रहरी उपरीक्षक शाहीका अनुसार, बर्दियामा जग्गा नभएका प्रहरी यूनिट छन्, जग्गा भएर पनि भवन नभएका यूनिट पनि छन् ।

जिल्ला प्रहरी कार्यालयमा चार वटा नयाँ भवन बन्दैछ । इप्रका जयनगरमा भवन बनिरहेको छ । ‘प्रस्ताव गरेका छौं,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘थप चार वटा यूनिट बनाउन अत्यन्तै जरुरी छ ।’ इप्रका मथुरा, जमुनी, प्रहरी चौकी जमुनी लगायतका प्रहरीहरू पुराना घरहरूमा बसेकाले खारगरि बर्षात्मा निकै बेहाल हुने गरेको छ ।

Exit mobile version