नेपालगन्ज मेडिकल कलेजको स्वामित्वमा रहेको शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले आफ्नो औपचारिक बोर्ड लगाएको छ ।
गत साउन १० गते नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग मर्ज भएको सञ्जीवनीले सोमबार साँझ एकाएक नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको बोर्ड हटाएर आफ्नो औपचारिकता दिएको हो । ‘एक महिना अघि नै लगाइसक्नु पर्ने बोर्ड ढिलो गरी आज (सोमबार) लगाइएको हो’, व्यवस्थापन सम्बद्ध स्रोतले दैनिक नेपालगन्जसँग भन्यो, ‘अबदेखि सञ्जीवनी कलेज आफ मेडिकल साइन्सेजले आफ्नो कामहरू यहीबाट गर्छ ।’
केही घण्टाअघिसम्म आन्दोलन चलिरहेको शिक्षण अस्पताल नेपालगन्ज बाहिर साँझ एकाएक बोर्ड फेरिएपनि विभिन्न खालका चर्चापरिचर्चा गरिएका छन् । सञ्जिवनीले बोर्ड मात्रै लगाएको छैन, विभिन्न विभागका लागि ८ सय ९५ को भ्याकेन्सी पनि आव्हान गरेको छ ।
व्यवस्थापन सम्बद्ध स्रोतका अनुसार, ४ सय नर्स सहित सञ्जीवनीले कन्सल्टेन्ट डाक्टर, मेडिकल अफिसर, फार्मेसीदेखि ल्याबसम्मका कर्मचारी माग गरेको छ । ‘नेपालगन्जका लागि यति ठूलो जनशक्ति आव्हान स्वभाविक लागिरहेको छैन’, शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकले दैनिक नेपालगन्जसँग भने, ‘आन्दोलनकारीलाई घुक्र्याउन भ्याकेन्सी एनाउन्सदेखि बोर्ड फेर्नेसम्मका काम भएको जस्तो लाग्छ ।’ उनको अनुमानलाई व्यवस्थापन पक्ष मान्न तयार छैन । ‘घुर्की होइन यो, गत साउन १० गते नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग मर्ज भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सञ्जीवनीले
आफ्नो काम अगाडि बढाएको हो’, व्यवस्थापन सम्बद्ध स्रोतले भन्यो । मेडिकल व्यवसायी खुमा अर्यालले नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को स्वामित्व लिएर सञ्जीवनी सँग मर्जर गरेका हुन् । त्यससँगै नेपालगन्ज मेडिकल कलेजको सम्पत्ति समेत सञ्जीवनीले खरिद गरेपछि नेपालगन्जमा पूर्ण रूपले सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सेजले अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिरहेको जनाउँदै आएको छ ।
सोमबारको पछिल्लो घटनाक्रमबारे लर्ड बुद्ध एजुकेशनल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्माले आफु त्यसबारे अनविज्ञ रहेको प्रतिक्रिया दिए । ‘मैले पनि थाहा पाएँ, बोर्ड फेरिएछ’, हुनसक्छ सञ्जीवनीले आफ्नो काम सुरु गर्यो’, उनले यतिमात्रै भने ।
आन्दोलन के होला ?
ओपीडी बन्द गरेर तीन सातादेखि स्वास्थ्यकर्मीहरू आन्दोलनरत् रहँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले ३ सय शैय्याको अस्पताल र कलेज सञ्चालनका प्रक्रिया सुरु गरेको छ । त्यससँगै शिक्षण अस्पतालका कर्मचारीको आन्दोलन के हुन्छ होला ? कर्मचारीहरूले यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । न त व्यवस्थापनले नै त्यसबारे कुनै जानकारी नै औपचारिक रूपमा गराएको छ ।
व्यवस्थापन स्रोतले नेपालगन्जमा रहेका सबै कर्मचारीहरू लर्ड बुद्ध एजुकेशनल एकेडेमीका भएकाले कोहलपुर गएर काम गर्नुपर्ने बताएको छ । आन्दोलनबारे भने व्यवस्थापनले आपत्ति जनाइआएकाले समझदारीबाटै निकास निकाल्ने पक्षमा आफुहरू रहेको दाबी गर्दै आएको छ ।
‘सञ्जीवनीको सम्पत्तिमा लर्ड बुद्धका कर्मचारीले आन्दोलन गर्न मिल्दैन’ व्यवस्थापनको दाबी छ ।