दशजना बसेर कतै गफ गरिरहेको ठाउँमा पुग्यो कि त्यहाँ सबैलाई यहि देशको चिन्ता लागेको झैं देखिन्छ सुनिन्छ । जन्ती मलामी कतै गयो कि धेरैका मुखबाट यस्तै कुराहरू निस्किन्छ । त्यहाँ सबै खाले मान्छे हुन्छन् । ब्यापारी, मझैला ब्यापारी, सरकारी जागिरे, नीजि जागिरे, उद्यमी, किसान, ज्यामी सबैखाले व्यक्ति, सबै सबै यो देशको वर्तमान व्यवस्था थिति देखि दिक्क र निराश मात्रै । अनि धैरैको एकमत हुन्छ ‘यो देशमा गण्तन्त्र भन्ने व्यवस्थाले केहि गरेन, नेपालमा धेरै राजा त भए तर देशको अभभिावक कोहिपनि भएन, गणतन्त्र किन चाहिएको हो कुन्नि ?’ यो कुरा गाउँ गाउँ देखि शहर शहरका जमघटहरूमा पनि ब्यापक छ । किन ? के नेपाललाई साँच्चिकै गणतन्त्र चाहिएको होइन त ? जनताको भावनाले त यस्तै व्यक्त गरिरहेको सुनिन्छ । यथार्थमा जनस्तरमा र देशहितको कसिमा गणतन्त्रको उपलब्धि पनि देखिँदैन ।
हुन त नेपाली राजनीतिक वृतमा अहिलेसम्म कै सबैभन्दा ठूूलो र गतिलो उपलब्धिको रूपमा गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई लिने गरिन्छ । यसको आगमन कसरी भयो भन्ने बारेमा आम नेपाली जनता नै आश्यर्चमा परेका छन् । २०६२–०६३ को आन्दोलनको आवाजमा यी तीनवटै कुरा थिएनन् । जनताले यसलाई कहिल्यै कतै एजेण्डा नै बनाएका थिएनन् । तर जब आन्दोलन सकियो र आन्दोलनका उपलब्धिहरूलाई लिपिबद्ध गर्ने बेला भयो त्यहाँ अर्कै कुराहरू पो लिपिबद्ध भए । जनताको तन मन, वचन र कर्मले चाहेको भन्दा भिन्नै जनताले रोपेको बिउ भन्दा भिन्दै बाली पाकेको देख्दा जनता नै आफै तिनछक परे । तर सधैंभरि सपनाका पोका बाँड्ने नेताहरूमा झट्टै विश्वास गरिरहने नेपाली जनताले ‘ठिकै भनेका त होलान् नेताहरूले ’ भनेर विश्वास गरे र आफुले नरोपेको बिउको फल खान बाध्य बनिरहेका छन् ।
आन्दोलनको दशबर्षपछि झस्केलाबाट एक थान संविधान त बन्यो । तर त्यो को द्धारा कसले कसका लागि बनायो यो दशबर्षमा लगभग त्यो कुरा स्पष्ट भैसको छ । संविधानमा जनताको इच्छा बिपरित गणतन्त्र फुल्यो, संघियता पनि झाँङ्गियो र धर्मनिरपेक्षताको बोटले धान्नै नसक्ने गरि फल पनि दियो । जनताले मौन बसेर टुुलुटुलु हेरिरहे । अहिले यी तीनवटा बिषहरूको वास्तविक असर समाज नै सक्नेगरि फैलिन थालेको छ । अनि नेपाली समाज अत्तालिएर कराउन थालेको छ । गाउँघर, खेतखलियान, जन्ती मलामी, चिया पसल देखि भट्टी पसलसम्म उठेका कुराहरू जनता अत्तालिएका आवाजहरू हुन । उ बेला हतारमा बौलाएको र अरूको झाँसामा आएर बेलैमा बुद्धि नपुर्याउँदाको परिणामबाट अहिले तिल्मिलाएर खासै अर्थ रहेको छैन ।
नेताले गल्ती गर्दैन भन्ने हुँदैन । तर उ नेता हो भने उसले ब्यवहारले आफ्नो गल्ती सच्याउन सक्नुपर्छ । सक्दैन भने उ नेता होइन कसैद्वारा खटाइएको दलाल हो ।
२००७ सालतिर भारत र यसका नेपाली प्यादाहरूले उठाएको संविधान सभा ५५ बर्षपछि व्यूउँताइयो । यति सानो देश त्यो पनि मिश्रित जातजाति, धर्म सम्प्रदाय र सहृदयतापूर्ण बसेको समाजमा जातियता र क्षेत्रियताको यूरोपेली बिषबृक्ष रोपेर समाजलाई भाँडियो । एकल जातियताको नारा र क्षेत्रियताको नारा उचालेर नेपाली जनताका आत्मीयतापूर्ण बाँचेका मनहरू भाँच्ने काम भयो । भनिन्छ समाजमा कुनै कुरा लाद्न कन्भिन्स, कन्फ्यूज र क्याप्चर यी तीन तरिका अपनाइन्छ । पहिला यो देशमा आइएनजिओहरू घुसाएर पढेलेखेकालाई प्रोजेक्ट वर्क दिएर र गरिब जनतालाई समोसा र भत्ता बाँडेर कन्भिन्स गर्न खोजियो । त्यो कन्भिन्सिङबाट केहि उग्रवादी जत्था तयार गरियो या आइएनजिओको एजेण्डाप्रति नरमपन्थीहरू क्थित बुद्धिजिवीहरू त्यार गरियो । जसलाई भत्ता समोसा दिएर प्रो बनाउन सकिन्थ्यो त्यस्ता जनतालाई अधिकारका नाउँमा, जातियता र क्षेत्रियताको नाउँमा कन्फ्यूज गरियो । जब जनता केहि कन्भिन्स भए, पढेलेखेकाहरू मीडियाहाउसहरू आफ्नो एजेण्डमा नरम भएको अवसर सृजना भयो आतंक र आन्दोलनको बाहनामा क्याप्चर गरियो र आफ्नो एजेण्डा अनुकुलको संविधान भन्ने खोस्टो ल्याएर गणतन्त्र नामको शासन गरिएको छ ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको संविधान र यसले गरेको शासन अजब गजबको छ । यस्तो शासन जहाँ कुनै सुशासन छैन । जहाँ कुनै शासकीय नैतिकता छैन । जहाँ कुनै देश र जनताप्रति जवाफदेहिता नै छैन । जहाँ कर्तव्यपरायणता भन्ने नै छैन । जहाँ देशको राज्यकोषको ब्रम्हलूट छ । देशको ढुकुटी बचाउने चिन्तन छैन । जहाँ आफ्नो देशको मूल कुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकताको मूल्य र मान्यता नै छैन । आफ्नोपनको तेजोबध गर्दा र नेपालको माटोलाई नै सत्तोसराप गर्दा निकै गर्वको महसुस गरिन्छ । बहुदलको नाउँमा पार्टीहरूको तानाशाही चलेको छ । संसद देखि आयोग र विश्वविद्यालय, न्यायालय जताततै भारदारिया सभामा परिणत भैसकेका छन् । अमुक पार्टीका नेताहरू भनेका स्वघोषित तारणहार भगवान भएका छन् । पार्टीको आड आर्शिवादमा नेता कार्यकर्ताहरूले राज्यका हरेक सार्वजनिक सम्पत्ति हडप्ने देखि राज्यकोषमा जति सुकै डाँका हालेपनि छूट छ । पार्टी नेताहरूमा भागबण्डा मिलेपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र यो संविधान सुरक्षित रहिरहन्छ तर जहाँ जहाँ भागबण्डाको बिलोमा अलिकति तलमाथि हुन्छ फुत्त बाहिर निस्केर सबैथोक खतरामा गयो गयो लौ न जनता बचाइ देऊ भन्दै भाषण गर्दै जनतालाई कन्फ्यूज गराउँदै हिँडिन्छ । यसैलाई नै नेपाली मोडेको गणतन्त्र भनिन्छ ।
जनताले चाहेको यस्तो भ्रष्टतन्त्र पक्कै पनि होइन । यति कुरा त ढुक्कसँग भन्न सकिन्छ । नेपालको लागि गणतन्त्र आवश्यक नै होइन र यस्तो संविधान पनि होइन ।
कुनैपनि देश र त्यो देशका जनताको अभिभावक भनेको राज्य हुन्छ । तर यो देशमा राज्य कतै देखिँदैन । नेता कतै देखिँदैन । यहाँ आजपनि आइएनजिओले राज गरेको छ । विदेशी दूतावासहरूले निर्देशन गरेका छन् । केहि थान मीडियाहाउस र ब्यापारिले देशको राजनीति हाइज्याक गरेका छन् । आम जनताको सुनिदिने कोहिपनि छैन । यसैले त आज न देशको अभिभावक छ न जनताको अभिभावक नै छ ।
नेपाल कुनै पार्टी, कुनै वादको आर्दशले निर्माण भएको देश होइन । यो कुरा कसैले दावा गर्न पनि सक्दैन । नेपाल शाहवंशीय राजा बडामहाराज पृथ्बी नारायण शाहको नेतृत्वमा नेपाली जनताले एकिकृत गरेको देश हो । ती जनता जो कुनै विदेशी वादको दासतामा थिएनन् । कुनै आइएनजिओ र विदेशी दूतावासहरूले चलाएका पनि थिएनन् । न कुनै दूतावासमा भिख माग्न पुग्ने गरेका थिए । कसैको कलो नखाएका शुद्ध मनले नेपाल जोगाउनु पर्छ भन्दै नेपालको माटोको बासनाबाट ओतप्रोत भएका योद्धाहरूले बनाएको यो देश आज विदेशी वादका दासहरू र दूतावासहरूका दलालहरूले लूट्न गणतन्त्र चाहिने भयो यसैले यो तन्त्र ल्याएको हो भन्न कत्तिपनि हिच्किचाउनु पर्दैन ।
जब यो देशलाई दक्षिणतिरबाट चिथोरिँदै थियो, नेपाललाई छिमेकीले आफ्नो राज्य बनाउने मनसाय पालेर हप्कीदप्की गर्दै थियो । केहि बर्ष दरबार भत्रै पसेर निर्णय गर्न पाएको र बिस्तारै नेपालको सार्वभौमसत्ता नै हत्याउने अनुकुल समय कुरेको छिमेकीलाई गलहत्याएर बाहिर निकाल्दा दिल्ली तिलमिलाउँदै थियो । त्यसबेला यहाँका राजनीतिक पार्टीहरू र यसका नेताहरू त्यहि दिल्लीको सर्मथनमा लाम लागेका थिए । आफ्नो देशको अस्मिता बचाउने राजाको बिरोधका लागि योजना र खजाना माग्न कोहि दिल्ली त कोहि बेइजिङ धाउँदै थिए । बेइजिङले चारो हालेन तर राजा महेन्द्रको आफ्नो देशप्रतिको अडानबाट तिल्मिलाएको दिल्लीको मुटु पोलेको पोल्यै भयो र उसले नेपाली काँग्रेस, कम्यूनिष्ट समाजवादी भनिनेका नेताहरूलाई लगानी गर्यो र एजेण्डा पनि सेट गरिदियो ‘तिम्रो राजाले लूट्यो यो त महासमान्त हो, यसलाई फाल्नुपर्छ’ भन्ने । आफ्नो समाजमा गरि खाएका नेपाली मोडेलको समाजवादमा रमाएका अबोध गरिखाने जनतालाई पार्टीहरूले कन्फ्यूज गर्न शुरु गरे ।
यो कन्फ्यूजन गर्ने काम दशकौ सम्म चल्यो । कहिले नाकाबन्दी, कहिले साँधीढुङ्गो सार्ने त कहिले कुटनीतिक हतियारको प्रयोग गरेर दरबारलाई गलाउने प्रयास भयो । जब दरबार गलेन अनि त्यसलाई बिभिन्न स्वार्थकेन्द्रहरू मिलेर सिध्याइयो । जनस्तरमा आतंक सृजना गरियो । आतंककारीलाई आफ्नो भूमिमा पालेर हतियार दिएर, एजेण्डा सेट गराएर उफारियो । देशभित्र अराजकताको स्थिति बनाउँदै अन्य पार्टीहरूलाई एक्लाउँदै लगियो । अन्तमा दिल्ली दरबारमा बोलाएर सम्झौता गराएर दशकौ.सम्म लगानी गरेर पालेका पालुवाहरूलाई एउटै मञ्चमा ल्याएर स्वार्थकेन्द्रहरूले आफ्नो लगानी असुल गरे ।
गणतन्त्रले के दियो नेपाली जनतालाई ? सेट एजेण्डामा बहकिएका राजनीतिक पार्टी र तिनका नेतालाई सोध्न सक्ने आँट अझै जनतामा पलाउन सकेको छैन । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको नाउँमा च्याँस तोड्न पाएकाहरूबाट आजपनि जनता त्रसित बन्नु परेको छ । आफन्तवाद, परिवारवाद, फरियावाद, विदेशी दलालीवाद, ढोकेचौकेवाद, झोलेवाद, दूतावासको आदेशवाद यस्तै यस्तै वादहरूको सुली चढेको नेपालको गणतन्त्र पक्कै पनि नेपाल देश र नेपाली जनताको लागि चाहिएको होइन । बडामहाराज पृथ्बीनारायण
शाहले जनतालाई एकिकृत गरेको र राजा महेन्द्रले बचाएको देश यस्तो गणतन्त्र, संघीयता र धर्म (भ्रष्ट) निरपेक्षता पाल्नका लागि होइन । सबैलाई चेतना भया ।