लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संस्थागत विद्यालयहरूलाई समयानुकुल गुणस्तरीय शिक्षाका लागि प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले खजुरामा आयोजना गरेको प्याब्सनको ३४औं स्थापना दिवसको कार्यक्रममा मन्त्री तिमिल्सिनाले निजी क्षेत्रको लगानीमा संस्थागत विद्यालयले हासिल गरेको शैक्षिक प्रगतिको प्रशंसा गरे ।
मन्त्री तिमिल्सिनाले लुम्बिनीमा पछिल्लो एसइइको नतिजा निराशाजनक रहेको उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालय शैक्षिक गुणस्तरमा गम्भीर हुनुपर्ने बताए । उनले सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी रहेपनि त्यसको उपलब्धीमा असन्तुष्टि व्यक्त गर्दै संस्थागत विद्यालयले शिक्षाको क्षेत्रमा योगदान पुर्याइरहेको बताए ।
‘संस्थागत विद्यालयका आफ्नै समस्या छन्, अभिभावकले पनि दुःख गरेर संस्थागत विद्यालयमा विद्यार्थी पठाइरहेका छन्’, उनले भने, ‘रेमिटान्सले मुलुक धानेको अवस्थामा संस्थागत विद्यालयले कर तिरेर योगदान गरिरहेका छन् ।’ उनले संस्थागत विद्यालयलाई केन्द्रदेखि प्रदेश सरकारसम्म योगदान अनुसार सहयोग गर्न नसकेको स्वीकार गरे । ‘लुम्बिनीमा संस्थागत विद्यालय थोरै हुँदा पनि विद्यार्थी चाप छ’, उनले भने ।
मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेश सरकार शिक्षाको गुणस्तर र परिवर्तनका लागि रहेको बताउँदै त्यसबारे बुझिरहेको बताएका थिए ।
मन्त्री तिमिल्सिनाले शैक्षिक गुणस्तर बृद्धिमा निजी विद्यालयहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै लगानी र रोजगारी सिर्जनाका हिसाबले निजी विद्यालयहरू अग्रस्थानमा रहेको चर्चा गरे । उनले राज्यका लागि राजश्व आम्दानीको प्रमुख क्षेत्र निजी शैक्षिक क्षेत्र रहेको बताए । मन्त्री तिमिल्सिनाले लुम्बिनी प्राबिधिक विश्वबिद्यालय सफल बनाउन प्याब्सन आवद्ध बिद्यालयलाई आग्रह पनि गरे ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले खजुरालाई शिक्षाको हब बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निजी विद्यालयले शिक्षा क्षेत्रको इज्जत धानेको चर्चा गर्दै आफूमाथि गरिएका प्रश्नहरूका बारेमा भने गम्भीर बन्नुपर्ने बताए । निजी विद्यालयले लिने शुल्क र शिक्षकहरूको पारिश्रमिकका विषयमा नकारात्मक भाष्य निर्माण भएको प्रसंग निकाल्दै उनले यसको जबाफ दिन सक्नुपर्ने बताए । उनले संस्थागत सहकार्यका लागि प्याब्सन बाँकेलाई आग्रह समेत गरे ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य सुनिल कुमार गुप्ता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामसुरेश यादव, खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, प्याब्सन नेपालगञ्ज नगर अध्यक्ष मान बहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
त्यसक्रममा संस्थागत बिद्यालयको विकास र स्थायित्वमा उल्लेख्य भूमिका निभाएको भन्दै एन्जल्स स्कुलकी सञ्चालिका बिना मल्ललाई प्याब्सन लाइफटाइम अवार्ड र बुद्ध बोर्डिङ स्कुलकी लता शर्मालाई प्याब्सन शिक्षा दीपबाट सम्मान गरिएको थियो । यस्तै प्याब्सनका निवर्तमान अध्यक्ष यम रावतलाई पनि सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा प्याब्सनमा आवद्ध १०५ बिद्यालयका उत्कृष्ट एक एक जना शिक्षक र बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरूले नृत्यसंगै विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शरचचन्द्र रावलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सञ्चालन सचिव लक्ष्मण बहादुर सिंहले गरेका थिए ।