बाँके जिल्लामा थारु समुदायले बिशेष पर्वको रूपमा मनाउने माघी पर्वको चहलपहल सुरु भएको छ । थारु समुदायको बाहुल्यता रहेको बैजनाथ गाउँपालिकाका थारु समुदायले नयाँबर्षको रूपमा मनाइने माघीपर्वको तयारी थालेका हुन् ।
माघीपर्वलाई लक्षित गरेर बैजनाथका थारु समुदायले खानाका बिभिन्न परिकारको जोहो देखि घर आँगन सरसफाईमा जुटेका छन् । थारु सम्वत २६४८ को शुभारम्भसंगै यो बर्षको माघीको रौनक अरूबर्षको तुलनामा भब्यहुने बैजनाथ गाउँपालिकाका थारु अगुवा चन्द्र चौधरी बताउँछन् । उनले थारु समुदायको पहिचान बचाउनलाई पनि माघी पर्वलाई बिशेष ढंगले मनाउने तयारीमा थारु समुदाय जुटेको बताए ।
बर्षभरीको आपत बिपद्लाई पारगर्दै माघी पर्व सम्म आइपुगेकाले घरपरिवार, टोल छिमेक सबै मिलेर माघीपर्व मनाउने तयारीमा जुटेको बैजनाथ १ च्यामाका थारु अगुवा रामबिलास थारु बताउँछन् ।
माघ १ गते भनेकै थारु समुदायका लागि नयाँ बर्ष भएकाले यो पर्व बिशेष रूपमा मनाईने बैजनाथ ५ बाँकेका भरत बहादुर थारु बताउछन् । बैजनाथका थारु समुदायले माघी पर्व मनाउन टोल देखि वडा स्तर सम्मका कार्यक्रमदेखि पालिका स्तरिय कार्यक्रमको आयोजना गरेका छन् । बैजनाथ गाउँपालिकाको सहयोगमा पुष २६ र २७ गते वडा नंम्बर १ च्यामामा बैजनाथ बडघर तथा थारु महिला सञ्जाल बाँकेको आयोजानामा पुर्खन के कला संस्कृति, परंपरा लौव पुष्टम सर्ना हमार अभिारा भन्ने मूल उद्देश्यका साथ बैजनाथ थारु महोत्सव २०८१ को आयोजना समेत गरिएको छ ।