राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्न नेपाली काँग्रेस तयार रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले बताएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले देशका ठूला दल मिलेर बनेको वर्तमान सरकारले जनताका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
ठूला दुईदल सहमती भै सरकार गठन हुँदा भएका ७ बुँदे सहमतिलाई विधिशुत्र मानेर गठबन्धनको सरकार अगाडी बढेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री साउदले बताएका छन् ।
सरकारले गर्ने सुशासनका बारेमा जनता सामु बुझाउनु पर्छ भन्ने अभियान लिएर आज नेपालगंज आइपुगेका केन्द्रीय सदस्य साउदले दुई ठूला दल मिलेर सरकार गठन गर्दा भएका सहमती कार्यान्वयन हुन चुनौती समेत रहेको भन्दै भ्रष्टाचार नियन्त्रण, देश भित्रै रोजगारीको श्रृजना, महंगी नियन्त्रण देखि सर्वसाधारण जनताको राज्य सम्मको पहुँचलाई सुनिश्चित गर्ने र मुलुकलाई स्थिरता दिने दुई ठूला दलकाे अभिप्रायलाई सार्थक बनाउन नसकिएको बताएका छन् । उनले वर्तमान सरकारको मूल्यांकन विभिन्न क्षेत्रवाट भैरहेकाले सरकार सञ्चालनको महत्वपूर्ण दायित्व नेपाली काँग्रेस पार्टीभित्रको संयन्त्रमा छलफल गरिने बताए ।
नेपालगंजमा प्रेस यूनियन बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व मन्त्री एवं केन्द्रिय सदस्य साउदले सरकारले गर्ने राम्रा योजना र पार्टीको आफ्नो परिस्थितिलाई लिएर लुम्बिनी प्रदेशका जिल्लाका जनता र पार्टी कार्यकर्तालाई बुझाउने अभियानमा निस्किएको बताए ।
अभियानमा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य साउद संगै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा . डिला संग्रौला, गोविन्द बहादुर शाह , अब्दुल सत्तार र चम्पा खड्का यो अभियानमा सक्रिय रहेका छन् ।