लुम्बिनीमा खेलकुदको गतिविधिलाई कसरी पाउनु भएको छ ?

अहिले हामीले लुम्बिनीमा प्रदेश खेलकुद परिषद् स्थापना भैसकेपछि १२ वटै जिल्लामा खेलकुद विकास समिति निर्माण गरेका छौं । त्यो सँगसँगै हामीले विभिन्न नियमावली बनाइसकेपछि विभिन्न कार्यक्रमहरुको तहमा छौं । अफिसियल कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेका छौं । केन्द्रीय कार्यक्रमहरुलाई नियमित रुपमा अगाडि बढाएका छौं । जस्तो राष्ट्रपति रनिङ्ग शिल्ड, नवौं राष्ट्रिय खेलकुदमा हामी सहभागी भयौं भने अन्य विविध प्रदेश स्तरीय र राष्ट्रिय गर्दैछौं ।

अहिले प्रदेश खेलकुलको पोलिसी के छ ?

प्रदेश खेलकुद परिषद् यो प्रदेशको खेलकुद विकासका लागि र खेलकुदको सबलीकरणका लागि स्थापना गरिएको संस्था हो । यो प्रदेश भित्र हुने सबै खालका खेलकुद गतिविधिहरु त्यो चाहे स्थानीय तहले गरोस् चाहे खेलकुद संघहरुले गरोस् वा कुनै क्लबले गरोस् यो सबैको जिम्मा प्रदेश खेलकुद परिषद्ले लिनुपर्छ । हाम्रो प्रमुख उद्देश्य भनेको खेल सम्बद्ध संस्थाहरुलाई सशक्तिकरण गर्ने र अर्को नियमन गर्ने पनि छ । कही कतै खेलकुदका नाममा गलत क्रियाकलाप हुन्छन् भने गलत काम हुन्छन् भने अथवा नियम विपरित खेलहरु खेलाइन्छ भने त्यसलाई नियमन गर्ने र सही बाटोमा डोर्याउने प्रमुख काम हाम्रो हो ।

बाँकेमा अर्बौंका खेल पूर्वाधरको सदुपयोग हुन सकेको छैन । त्यसमा ध्यान पुर्याउनु भएको छ ?

यसमा हाम्रो ध्यान पुगेको छ । आठौं राष्ट्रिय खेलकुद हुँदा जुन रंगशाला बन्यो, नेपालगन्जमा । बाँकेका अन्य ठाउँमा पनि खेल पूर्वाधार बने । ती संरचनाहरु स्वामित्वको कारणले गर्दा अहिले पनि प्रयोगविहीन जस्ता भएका छन् । र, यसको सही तरिकाले संरक्षण पनि हुन सकेको छैन । यो कुरा धेरै पटक हामीले उठाइसकेका छौं । यो कुरा हामीले राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुदको केन्द्रीय निकायलाई धेरै पटक पत्राचार पनि गरेका छौं । र, यो कुरा उठान गरेका छौं, छिटो निर्णय गरियोस् अथवा हामीलाई ह्याण्डओभर गरियोस्, हामीले यसलाई संरक्षण पनि गर्छौ, खेलकुद गतिविधि पनि गर्छौ । सँगैसँगै जुन निर्माणको कुरा भैरहेको छ, केन्द्रको ऐनमा र हाम्रो पनि ऐनमा के उल्लेख छ भन्दा कुनै पनि संरचना त्यो प्रदेशमा बनाउँदा वा स्थानीय पालिकामा बनाउँदा सम्बन्धित प्रदेशको खेलकुद निकाय वा स्थानीय निकायसँग सहकार्य गरेर गर्ने भन्ने छ । तर, केन्द्रले यो गरेको पाइँदैन । यो विषयमा उहाँहरु बेखबर जस्तै हुनुहुन्छ ।

भर्खरै नेपालगन्जमा बन्दै गरेको सेन्थेटिक ट्रयाकमा हामीलाई धेरै उजुरीहरु प्राप्त भयो । उहाँहरुले त्यो विषयमा हामीसँग कोर्डिनेशन गर्नुभएन । पछाडि हामीले यो विषयलाई अनुगमन गर्यौं । हाम्रो हिसाबबाट हामीले यसलाई सकेसम्म रेक्टिफाइ गर्ने प्रयास गर्यौं । सचेत पनि गरायौं । कही कतै गलत भयो भने हामीहरुले सजिलो तरिकाले उम्किन दिन्नौं, गलत गर्न दिनेर उहाँहरुलाई सचेत पनि गरायौं । र, पछिल्लो समय कामले रफ्तार पनि लिएको छ । तर, जुन तरिकाले उहाँहरुले कोर्डिनेशन गर्नुपर्ने हो गर्नुभएको छैन । यो कारणले गर्दा धेरै खेल संरचनाहरु सही तरिकाले प्रयोग भएका छैनन् ।

मुलुक संघीयतामा गएको यतिका वर्ष बितिसक्दा पनि अझै कसले स्वामित्व लिने भनेर अन्योलमै रहेर राज्यको अर्बौको सम्पत्ति तहसनहस हुन दिने त ?

यो के छ त भन्दा जब २०७२ को संविधान जारी भैसकेपछि खेलकुदलाई साझा अधिकार सूचिमा स्थानीय तह, प्रदेश र केन्द्रमा राखियो । त्यो अनुसार हामीले नीति पनि बनायौं । तर, सोही अनुसार संघीयता कार्यान्वयन गर्ने कुरामा सबैभन्दा बढी गणतन्त्रको वकालत गर्नुभयो, सबैभन्दा बढी सरकारमा उहाँहरु हुनुहुन्छ, उहाँहरुले समयमै चासो नदिंदा समयमै संघीय संरचनामा जान सकेन । विलम्व भएको छ । तर, यसको लागि चारै तर्फबाट दबाब भैरहेको छ, आवाज पनि उठेको छ । केन्द्र पनि राष्ट्रिय खेलकुद परिषद्को सदस्य भएको नाताले बारम्बार हामीले मिटिङ्गमा उठाएका छौं, सबै मिटिङ्गमा महत्वपूर्ण एजेण्डाका रुपमा उठिरहेको छ । सम्भवतः समयमै यस विषयमा अगाडि चाहीँ बढ्छ ।

अन्तमा,

दुई दशकपछि व्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा हुँदैछ । प्रदेशले यो प्रतियोगितालाई हेर्ने दृष्टिकोण र नेपालगन्जको खेल विकासका लागि प्रदेश सरकारको धारणा बताउनुस् न ?

पछिल्लो समय हामीले खेलकुद गतिविधिलाई हेर्यौं भने नेपालगन्जलाई हाइपो सेन्टर र इपी सेन्टरका रुपमा डेभलप भएको छ । किनभने संरचनागत हिसाबले पनि यो सहर अगाडि छ, पहिलो कुरा । दोस्रो संरचना मात्रै महत्वपूर्ण होइन, त्यहाँको खेलप्रेमी महानुभावहरु, खेल सम्बद्ध महानुभावहरु, खेलकुदकर्मीहरुले नजिकबाट बुझ्नु् भएको छ र यसको महत्व र यसको दायरा कति फराकिलो हुन्छ भनेर उहाँहरुले बुझ्नु भएको छ । सबैभन्दा महत्वपूर्ण चाहीँ उहाँहरुको खेलकुद प्रतिको लगाव छ । त्यसकारणले यो कार्यक्रम अगाडि बढ्दैछ ।

अहिले भर्खरै नेपालगन्जमा दुई दशकपछि प्रथम राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदैछ । यसलाई प्रदेश खेलकुद परिषद्ले सम्पूर्ण हिसाबले सहयोग गरेको छ । सँगसँगै भर्खरै कोहलपुर गोल्डकप सम्पन्न गर्यौं । यसका लागि हामीले प्रमुख प्रायोजक, प्रवद्र्धक भयौं । नेपालगन्ज म्याराथनलाई हामीले सहयोग गरेका छौं । यी सबैलाई हामीले आफ्नो सम्पत्तिका रुपमा लिइरहेका छौं ।

जुन गतिविधि नेपालगन्ज अथवा बाँकेमा अगाडि बढेका छन्, सँगसँगै लुम्बिनी प्रदेशको अन्य जिल्लाहरुमा अगाडि बढेका छन् । यसलाई प्रदेश आफुले अनरशिप लिइरहेको छ ।

पछिल्लो समय यहाँले हेर्नुभयो भने लुम्बिनी प्रदेशमा झण्डै ३३ बर्षपछि पहिलो पटक पाल्पा गोल्डकपलाई दोस्रो सिरिजका रुपमा उजुर सिंह गोल्डकपका रुपमा हामीले आयोजना गर्दैछौं । कोहलपुर गोल्डकपलाई स्थापित गोल्डकपका रुपमा अगाडि बढाइरहेका छौं । सँगसँगै राष्ट्रिय पौडी प्रतियोगिता यो बर्ष नेपालगन्जमा गर्दैछौं । राष्ट्रिय कबड्डी प्रतियोगिता हामीले यो बर्ष गर्नेछौं । भलिबलको पुरुष राष्ट्रिय प्रतियोगिता रुपन्देहीमा हुँदैछ । महिला राष्ट्रिय भलिबल प्रतियोगिताका लागि बजेट विनियोजन भएको छ ।

यसरी हेर्दा लुम्बिनी प्रदेशमा वास्तवमै खेलकुदका गतिविधिहरु तिव्र रुपमा राष्ट्रिय स्तरका प्रतियोगिताहरु अगाडि बढेका छन् । यसले के देखाउँछ भने लुम्बिनी प्रदेशको प्रदेश खेलकुद परिषद् खेलकुदप्रति समर्पित छ र खेलकुदकर्मीहरु प्रति उच्च सम्मानका साथ लागेको छ । उहाँहरुलाई सहयोग गर्ने गरेर खेलकुदलाई एउटा जीविकोपार्जनको माध्यमका रुपमा अगाडि बढाउन सकिन्छ भन्ने हेतुले हामी अगाडि बढेका छौं ।

Exit mobile version