विचार

राजनीति सरल रेखाबाट नभै वक्र रेखामा यात्रा गर्छ । । नाटकमै पनि वास्तविकता झल्कनु पर्छ । जो जति लोभी हुन्छ, उ त्यतिकै मात्रामा ठगिन्छ । ठगी आर्थिक मात्र हुँदैन भावनाको शिकार, मनोवैज्ञानिक शोषण जे पनि हुन सक्छ । अझ अन्तरराष्ट्रिय ठगहरू आफ्ना शिकारलाई ठूलो प्रलोभन देखाउँछन् । माछा शिकारमा बल्छीमा हाल्ने चाहारा झैँ खर्चवर्च पनि गर्छन् । अन्तमा या त लोभीहरू त्यसै अनुपातमा ठगिन्छन् या ठग आफनो उद्देश्यमा असफल भएपछि कुनै बहाना निकालेर चलाख शिकारबाट उम्कन्छ पनि । चतुरेहरूभने ख्वामितको मन मस्तिष्क पढेर मनोभाव अनुसारका तर्क उमार्छन् । व्यवहार गर्छन् ।

– आज एउटा राष्ट्रिय ढूससंग जम्काभेट भयो । भन्न थाल्यो– मलाई अवसरवादी भन्दा केही फरक पर्दैन । यो त कला हो, कला । म अवसरको खेती गर्ने हुँ, सामान्य मान्छेले सक्दै सक्दैन । अवसरका व्यवसायीहरू नैतिकता, आदर्श, विचार, सिद्धान्त र मान्यता सबै नाफाघाटाको क्यालकुलेटर चलाएर मात्र गर्छन् । शक्तिसँग गुडबुक र ब्याडबुक रेकर्ड हुन्छ । उसको विश्वास पाउन गुडबुकमा दरिन कला योग्यता हुन पर्छ । अरुको विश्वास पैदा गर्नु अत्यन्तै कठिन काम हो । हिजोलाई कसैले ख्यल गर्दैन । सफलतासँग अपराध धुने अचम्मको साबुन हुन्छ । भ्रष्टता पनि पौरखमा फेरिन्छ ।

–कसरी गर्छौ त सफलताको व्यवसाय ?

संसारमा नगल्ने कुनै चट्टान हुँदैन । सबैका एकनएक कमजोरी हुन्छन् । चिन्नु पर्छ । थाहा पाउनुपर्छ । तब खेल्नुपर्छ । यदि कुनै भ्रम छ भने सफा गर्न उसका ग्रन्थीमा छिपेका चाहाना रसाईदिएर पुरा गरिदिनुपर्छ । उसका प्रतिस्पर्धी वा विरोधीका कमजोरी, चाल, गोपनीय कुरा खुसुक्क सुनाएर त्यसै कमजोरीमा आक्रमण गर्ने उपाय सुझाउनु र उकास्नु पर्छ । सकभर दुवैतर्फ विश्वस्त गराएर खेल्न सक्नुपर्छ । कुन दाउ, कसरी, कहिले खेल्ने चाल्ने कला र क्षमता कुशल खेलाडीले राख्छन नै । दुवैलाई विश्वस्त पार्नुपर्छ – आदेशमा हाँकिने गुलाम मात्र हुँ ।

हजुर, मलाई राजनीतिक कार्यकर्ता भनेर नसोचियोस् । मैले सोच्ने कर्म छोडेको धेरै समय भइसक्यो । अझ तर्क गर्नु त पाप कर्म नै सोचेको पनि धेरै भो । ख्वामितले भनेपछि टाउको हल्लाउन वा इसारा गरेकोलाई घुक्न, झम्टन, टोक्न, चिथोर्न, कोपर्न अर्थात जे पनि गर्न सक्ने भएको पनि धेरै भइसक्यो” व्यवहारिक विश्वस्त बनाउन सक्नु पर्छ । भन्नुस्… फुटम, लौ फुटम । कसलाई के भन्नु पर्छ ? गर्नु पर्छ ? योग्य, वफादार बनेर काम फत्ते गर्छु । अनि फेरि भन्नुस्… हजुर, हामी मिल्नु पर्छ । म तर्क कोरल्ने छु, मिलापको ।” उचित समयमा कुशलतापूर्वक, सम्मान सहित प्रस्ताव राखे नबिक्ने कोही संसारमै हुँदैन । तब जे पनि गराउन सकिन्छ ।

– उ भन्दै गयो, म सुन्दै गएँ । उसका सफलताका दर्शन फरक थिए । –लाज र घिन हटेपछि मात्रै खेलाडी बन्न सकिन्छ । मलाई हिजो पनि लाज थिएन, आज पनि छैन । आदर्शका फाल्टू सोचाइ सोच्ने काम म गर्दै गर्दिन । शक्तिको सुन्दरता मेरो सुन्दरता । उसको कुरूपता मेरो पनि कुरूपता । म साँच्चै शक्तिकै खसोखास मान्छे बन्छु । किन की मेरो कुनै मौलिक आदर्श नभै केही आस, केही त्रास, केही विलासीका ग्रन्थी पलाएर शक्ति पछाडि शक्ति आर्जनका लागी मात्र पछ्याएको । दुवैलै दुवैलाई बुझछौ । एक्लैले कसैले पनि शक्ति आजन र सुरक्षित गर्न सक्दैन । मुढो जलाउन पनि झिँजो आवश्यक पर्छ । उनी चुचुरोबाट, म भुइँबाट, यतिमात्रै फरक हो । नबुझिने उनी पनि कहाँ हुँन र ? मैले शक्ति सञ्चय मात्र गरेको कुरा बुझेकै थिए । तर नबुझेको जस्तो दुवैले गरेका मात्रै हौँ । विश्वासपात्र हुन हरेक दिन म दिमाग खोपीमा सिउरेर हिँडेपछि सोच्ने कष्ट उठाइन ।

साँझ फर्किएर सर्लक्क टाउकोमा दिमाग घुसारेपछि दिनभरी के, के भो गम्न थाल्छु । मैले बेबकुफ बनाएको उनी पनि बुझ्छन्, म पनि कहाँ बुझन कमजोर छु र ? म शक्तिको आज्ञा पालकमात्र । शक्ति चन्चल हुन्छ र कुनबेला कता बुर्लुक्क फडको हान्छ, होसियारी साथ नियालिरहन्छ । हो, दुश्मनसँग हात मिलाए भन्दैमा ढुक्क हुनुहुँदैन् । हात मिलाउनु तर दिल नमिल्नु त कूटनीतिक सम्बन्ध मात्रै हो । जति ठूलो लोभी कन्जुस,त्यतिनै सजिलै पासामा पार्न सकिन्छ । शक्तिवाललाईत विश्वस्त बनाएर आतङ्कित बनाउँदै अझ काम फत्ते गराइन्छ । कस्मेटिक रिलेसन राख्नु दबिएको कुण्ठाका निकासका ढोका खोली दिनुपर्छ । जब पैसा बक्न थाल्छ तव हृदय भने मौन राख्न सक्नुपर्छ ।”

पिच्च थुक्न मन लागेको थियो, धेरै सोचेँ । अनि घुटुक्क पिइदिँए । बबुरो बनेको आजकालको म औधी सेल्फ सेन्सरशिप हुन थालेको छु । वाहियात प्रश्नको सबभन्दा राम्रो उत्तर मौन बस्नु जस्तो लाग्छ । जुन समाज सोच्दैन, त्यो कस्तो समाज होला ? बेबकुफ बन्दै रहे, नाता सम्बन्ध पनि कायम भै रहँदोरहेछ । जव सामान्य विषयमा पनि भिन्न मत राखेपछि नाता, सम्बन्ध तोडिँदा रहेछन् । राम्रो हुनुको पनि मूल्य चुकाउनु पर्दो रहेछ । खराब व्यवस्थाले राम्रा मान्छेलाई पनि बारम्बारै हराइदिन्छ । प्रसिद्ध ब्यंग्यकार हरिशंकर परसाई भन्छन् – ‘राम्रो नोकरी नपाइन्जेल अथवा कारोबार राम्ररी नसप्रिन्जेल मात्र हरेक मान्छे क्रान्तिकारी देखिन्छन्, हुन्छन ।’ राष्ट्रिय ढूस पनि त्यस्तै भूपू क्रान्तिकारी नै हो उ नयाँ बनेर शक्ति, पद, सम्पत्ति र हैसियत पाएको मैले देखेको थिएँ । उसले क्षमताको कुशल मार्केटिङ गरेको मात्र थियो ।

अन्तमा,

बुद्धिजीवीको ट्याग भिरेर कोही कुनै सत्ताको भाषा बोल्छ भने ऊ कर्मचारी मात्र हो, बुद्धिजीवी होइन । बुद्धिजीवी जहिल्यैपनि समाजको प्रवक्ता हुनुपर्ने । खतरा मोलेर तथ्यमा आधारित तर्कले बोल्ने हिम्मत गर्नु पर्ने । बोल्न नसक्नेहरूको आवाज हुनुपर्ने । तर शिक्षित रुढिवादको जगजगी भएका बेला भिडले त्यो कर्मलाई मुर्खता भन्ने गर्छ । साँच्चै सत्य त खोजी गर्नु पर्छ । भ्रम र हल्ला त सित्तैमा घरघरमै पुगी हाल्छ नी ! भ्रमसंग अचम्मको शक्ति हुँदारहेछ । मैले उ र उसका ख्वामितलाई धेरै वर्षदेखि नांगै चिनेको हुँ । विर्सनु कति कठिन ? नविर्सने मान्छेको दुरगित नियालका मान्छेहरु सफलताको खेतीपाती गर्न थाल्छन । तर, असल मान्छेले राजनीतिलाई घृणा नभै सक्रिय सहभागिता र हस्तछेप गरेपछि मात्र असामाजिक तत्व निरुत्साही हुन्छन । त्यो अपराधको हिस्सा राजनीतिलाई बेवास्ता गर्ने नागरिक पनि दोषी मानिन्छन् । राम्रो हुनुपर्छ भन्ने मान्यता राख्नेले मात्र हृदय र मस्तिष्कको आवाज निकाल्न सक्छ । सिद्दान्तको राजनीतिले मात्र अराजक र असमाजिक तत्वलाई नियन्त्रण गर्न सक्छ, । जीत पक्का भएपछि त डरपोक पनि लड्छन्, तर बहादुरहरु प्रतिकुलतालाई पनि अनुकुलतामा फेर्दै हारेका युद्ध पनि जित्छन् ।

Exit mobile version