हङ्कङ फ्लुको प्रकोप चुलिँदै

केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरु देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोष्ट भाइरल कफ’ भन्ने गरिन्छ । र यस्तो अवस्था हाल समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया तीनदेखि आठ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोष्ट भाइरल कफ’ वा ‘पोष्ट इन्फेकसियोस कफ’ भन्ने गरिन्छ ।

सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्दछ । यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बि’, ‘सी’ र ‘डि’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बि’ भाइरसले विशेषतः स्वास्थमा समस्या निम्त्याउने गर्दछ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा पेनडेमिकको रुप दोहोरिने गरेको विगतका अनुभवहरु छन् । 

कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले पेनडेमिक घोषणा गरेको थियो । यो भाइरसलाई शुरुमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भएता पनि पछि ‘एचवान एनवान पिडिएम ०९’ नामकरण गरिएको थियो । हाल यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ । हरेक बर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिदै आइरहेको छ । त्यस्तै सन् १९१८ मा पनि फ्लु ‘ए’अन्तर्गत ‘एचवानएनवान’ प्रजातिको भाइरसले महामारीको रुप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासको उच्चतम घातक सङ्क्रामक रोगको रुपमा पनि लिने गरिन्छ । सो समयमा यो प्रजातिको भाइरसले विश्वको झण्डै एक तिहाइ जनसङ्ख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झन्डै पाँच सय लाख मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ । 

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइब एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणको रुपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पन्छीबाट मानिसमा सर्ने गर्दछ । यद्यपि हालसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने, बर्ड फ्लु पन्छीबाट मात्र मानिसमा सर्ने देखिएकामा केही महिना अगाडि अमेरिकामा गाईबस्तु वा सोको दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसको लागि यो नयाँ चुनौतीका रुपमा खडा भएको देखिन्छ । 

नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिएको थियो । तर दुर्भाग्यबस सो सङ्क्रमित युवाको भने सोही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पन्छीमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ । 

के हो त ‘हङकङ फ्लु’ ?

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचथ्री एनटु’ अर्को मुख्य प्रजाति हो । नेपालमा यो भाइरस ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरससँगै बर्सेनि देखिने गर्दछ । यसलाई ‘हङ्कङ फ्लु’ को नामले पनि चिनिने गर्दछ । सन् १९६८ मा पहिलोपटक हङ्कङमा प्रकोपको रुपमा देखिएको यो भाइरसले १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ । तर हाल यो भाइरस पनि ‘मौसमी फ्लु’ का रुपमा परिणत भइसकेको छ । दुई महिना अगाडिसम्म पनि व्यापक रहेको ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरसलाई नयाँ साल सन् २०२५ लागेसँगै ‘हङ्कङ फ्लु’ ले तीव्र गतिमा प्रतिस्थापन गरिदिएको छ । 

‘हङ्कङ फ्लु’ फैलन सुरु भएसँगै धेरै मानिसहरु बिरामी भई घरमा नै आराम गर्नुपर्ने अवस्था÷बाध्यता सिर्जना गरिदिएको छ । माथि उल्लेख गरे झैँ धेरैलाई लामो समयसम्म खोकीले समेत नछोडेको अर्थात् ‘पोष्ट भाइरल कफ’ को समस्या समेत देखिने गरेको छ । ‘पोष्ट भाइरल कफ’ को कारणमा ‘हङ्कङ फ्लु’सँगै वायु प्रदुषणको समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन । हाल वायु प्रदूषणले नेपाल आक्रान्त भइरहेको छ ।   

लक्षणहरु के के हुन् त ?

यसमा समान्यतया सङ्क्रमण भएको दुई दिनमा फ्लुका लक्षणहरु देखिन सुरु हुन्छ । अचानक ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, घाटी दुख्नु, नाकबाट पानी बग्नु, बालबालिकामा विशेषतः बान्ता हुनु जस्ता फ्लु भाइरसका प्रारम्भिक तथा मुख्य लक्षणहरु हुन् । अरु लक्षणहरु केही दिनमा (एक हप्तामा) कम हुँदै जाने भए तापनि खोकी भने दुई हप्ता वा सोभन्दा बढीसम्म रहन सक्दछ । कतिपयमा भने निमोनिया वा सेप्सिस जस्तो जटिलताहरु पनि देखिने गर्दछ । ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका, दीर्घरोगी आदि फ्लु जटिलताको जोखिम पर्ने समूहहरु हुन् । 

उपचार के छ त ?

खोक्दा, हाच्छिउँ गर्दा वा सङ्क्रमितले खोख्दा ¥यालको छिटा सतहमा रहेको र सो ठाउँलाई हातले छोई नाक मुख आँखामा छोए सङ्क्रमण सर्ने गर्दछ । तसर्थ, सङ्क्रमित व्यक्तिले खोक्दा हातको बाहुलीले छोपेर मात्र खोक्नु पर्दछ । फ्लु पुष्टि भई लक्षणहरु देखिए ‘ओसेल्टेमिभिर’ नामक एन्टीभाइरल औषधि दिन सकिन्छ । यो औषधि नेपाल सरकारले विशेषतः जोखिम समूहकालाई भाइरस पुष्टि भएमा निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (केन्द्रीय प्रयोगशाला) मा हुने गर्दछ । यद्यपि, कोभिड–१९ को लहरपछि भने निजी अस्पताल वा प्रयोगशालाहरुले पनि परीक्षण गर्ने गरेको पाइन्छ । भाइरसको जटिलताबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो । यो खोप शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललगायत विभिन्न निजी अस्पतालहरुमा लगाउने गर्दछ ।                    

अन्तमा, मध्य डिसेम्बरसम्म चार प्रतिशतको हाराहारीमा देखिएको फ्लु भाइरस सन् २०२५ लागेसँगै ह्वात्तै बढेर झण्डै ३१ प्रतिशतको हाराहारीसम्म पुगेको छ । ‘स्वाइन फ्लु’ अर्थात् ‘एचवान एनवान पिडिएम ०९’ लाई प्रतिस्थापन गर्दै ‘एचथ्री एनटु’ अथवा ‘हङ्कङ फ्लु’ हाल तीव्र गतिमा फैलिरहेको तथ्याङ्कले देखाउँछ । तीव्रता पाएको मात्र होइन, धेरै मानिसमा लक्षणले कडा रुप लिएकोसमेत देखिन्छ । अनि कतिपयमा खोकीले हप्तौँसम्म दुःख दिएको वा लम्बिएको पनि देखिन्छ । फ्लु बर्सेनि देखिने भाइरस हो र धेरैले केही दिनको आराम पनि स्वास्थ लाभसमेत गर्दछन् तर जोखिम समूहका व्यक्तिहरुले भने जटिलताको सामना गर्नुपर्ने जोखिम भएकाले सङ्क्रमित भएको अवस्थामा चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ । फ्लुविरुद्धको खोप पनि सहज उपलब्ध भएकाले फ्लुको जटिलताबाट बच्न जोखिम समूहकाहरुले खोप लिनु सबैभन्दा राम्रो उपाय हुनेछ । (लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)
Exit mobile version