नरैनापुरका लागि पठाएको सरकारी अनुदानको मल बाटोबाटै गायब

गणेश विशु

नेपालगन्ज । नेपाल सरकारले नरैनापुरका किसानलाई बिक्री गर्न दिएको अनुदानको मल बाटोमै गायब भएको छ । नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोमै गायब भएको हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ-९ गते बुझिलिएको दुई सय बोरा (प्रति बोरा ५० केजी) नेपाल सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै युरिया मल फेला परेको छ । ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानित युरिया मल बाटोबाटै गायव भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए ।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऎनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको उनले जनाए । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल शिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मल बरेमा सात दिनभित्र स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ ।

नेपाल सरकारद्वारा अनुदानित मल तोकिएको सहकारीमार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वको आकस्मिक अनुगमन गरिएको थियो ।

Exit mobile version