उपचारका क्रममा बिरामीकाे मृत्यु भएपछि अस्पतालमा तनाव

मिर्चैया सरकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको आराेप छ ।
परिवारजनले ब्यथा भएपछि बुधबार साँझ उनलाई अस्पताल लगेका थिए । अस्पताल लगिएपछि बिहीबार बिहान ५:४५ बजे सुत्केरी पनि भयो । अल्काले छोराको जन्म दिएकी छिन् ।
तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो । अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ ।
अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्‌ले जनाएका छन् ।
चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन् । घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ ।

Exit mobile version