ऊ त (मुर्दा) मान्छे पो ! – बसन्त कुमार उपाध्याय

अनुभूति 

बसन्त कुमार 

ऊ त (मुर्दा) मान्छे पो !!

‘स्प्रिचुअल हिप्नोटिक स्लीप’ का लागी साधुवाद छ । जो कि मृत्युका बारेमा रोमाञ्चकारी बनाउँछ ।

अनि सम्झन्छु ब्रिटिस विद्वान केनेथ वाकरका शब्दहरु । उनले आफ्नो एक पुस्तक एकजना फकिर जर्ज गुरजिएफका लागी समर्पीत गरेका थिए । पुस्तक समर्पणमा वाकरका शब्दहरु-‘ टू जर्ज गुरजिएफ,द डिस्टर्बर अफ माई स्लीप’

अबिर फूलमाला सहित राता र पहेंला कपडाले श्रृङ्गारीएको मान्छे । ऊ मृत्युशैय्यामा शयन गरेको केही बेरमा शङ्ख ध्वनी बज्छ । अनि घोषणा हुन्छ दाहसंस्कारको । हिन्दु संस्कारमा शङ्खको त्यो अन्तिम ट्राफिक सिग्नल थियो (मुर्दा)मान्छेलाई । त्यसपछी ऊ फेरी सिग्नल क्रस गर्न फर्किनेछैन ।

ऊ बाँचिरहँदा उस्का दु:खमा साथ दिने यतिका धेरै मान्छे कहिल्यै जम्मा भएनन् । तर ऊ मुर्दा भएपछी यति अचाक्लि धेरै मान्छे किन आएका होलान हँ !!

घाटमा धुवाँले सबैका नाक मुख थुनिएका थिए । बजारका रेष्टुरेण्टमा अङ्गारमा पोलेका सेकुवाको जस्तो धुवाँ पनि त यस्तै होईन र ? मलामी आँफैलाई प्रश्न !

जीवनका अनेकन उकाली ओरालीमा ठेस लागेर लड्दा ऊसलाई कसैले साहारा त पर उठाउने चेष्टा समेत गरेनन् । जब ऊ मुर्दा भयो ऊसलाई काँध दिनेहरुको लर्को लाग्यो । खै के खाले आत्मियता हो पट्यार लाग्दो । ति काँधले नथेग्ने भारी बोकेको महशुस हुन्छ ।

आफ्नो जीवन गाथामा श्वासको कलमले नमेटिने शब्दमा ऊस्ले मृत्युको पटकथलाई प्राण स्वयं भरेर हिंड्यो । मलामीहरु त्यही मृत्यु कथालाई विमोचन गर्न घाटमा पुराना जुत्ता चप्पल लगाएर उपस्थित छन् । कतै जुत्ता चप्पल पो हराउने हुन की भन्ने कुराले संशकीत हुँदै ।

ऊस्को मृत्युसँगै ऊस्का सबै सम्बन्ध,वैभव,पद,प्रतिष्ठा,सम्मान र सलामी घाटमा खेर गए । ति जस्का नाममा थिए ऊ बाहेक हेर्दाहर्दे कसैलाई काम नलाग्ने भएर निषप्राण भईदिए ।

जीवन छँदै ऊ राम्रो काठको पलङ्गमा मिठा सपना देख्न नपाएरै निरास थियो। ऊ मुर्दा हुँदा चन्दनको चिता पायो । तर ऊस्लाई चन्दनमा शैन गरेर सपना देख्ने मौका जुरेन ।

जीवनको अन्तिम घडीमा ऊस्लाई खुबै पानी प्यास लाग्यो,एक अम्खोरा पानी दिने कोही नहुँदा पनि ऊस्ले कसैसँग गुणासो पोखेन । ऊस्लाई थाह थियो कि अब ऊस्को भौतिक बसाईले विट मार्दै छ ।

त्यो शङ्खको ध्वनीले मुर्दालाई ऊसको यात्रामा अघि बढ्ने ट्राफिकको नियम भनिसकिएको थियो ।

विस्तारै अग्नीले ऊस्लाई अङ्गार बनाउँदै गर्दा निस्केको धुँवाले ऊस्का (कथित) आफन्तहरुका ननिस्किएका आँशु निस्कन खुवै सघाउँछन्।

 हेरदाहेर्दै अब त ऊ मुर्दा मान्छे पनि त रहेन है !! 

मनुस्मृति (५।१०३)लाई आजकाल मलामीले अनुसरण गर्ने अवस्था देखिंदैन् । यद्यपी घाटमा उपलब्ध भएको जल-पानीको प्रयोग गरेर कमसेकम रसाएका आँखा सम्म पुछ्नेहरु फर्किनेबेला अङ्गार भएको व्यक्तिका गुण र अवगुणको लामै फेहरिस्त साझा गर्न भ्याउँछन् ।

सनातन हिन्दु धर्ममा अथर्ववेद (१८-२-३४)ले मृत्यु संस्कारका विषयमा खुलस्त देखाएको छ । यहाँ अथर्वन ऋषि र ऋषि अंगिरालाई सम्झेर मनलाई स्वयं सान्त्वना दिन सक्नेगरी विश्राम लिन चाहन्छु। केवल जीवनको बोध छ,मृत्यु के हो थाहै छैन ।

मृत्यु अवश्यम्भावी !! यो विषयमा कुनै विवाद नरहला । तर कहीले ?कहाँ ? कसरी ? किन ? मनमा पेचीला प्रश्न उब्जिन्छन है ।अनि मलाई केदारनाथ पांडेयका यी पंक्ति सम्झन मन लाग्छ :

‘सैर कर दुनिया की गाफिल, 

जिंदगानी फिर कहाँ, 

जिंदगानी गर रही तो, 

नौजवानी फिर कहाँ ?’

केदारनाथ पांडेय जो पछी राहुल सांकृत्यायनका नामले सुप्रसिद्ध छन उनका यी ह्रफहरु पटक-पटक खै किन हो वेजोड लाग्छन् । र चुपचाप भईदिन्छु ।

भौतिक स्वरुपको देहवसान भौतिक रुपमा हुने अनुभव हो ।आत्माका कुरा पनि त छन है । फेरी म रजनीश अर्थात ओशोको प्रवचन ‘मैं मृत्यु सिखाता हूँ’ सम्झेर उल्लासमय हुने कोशिस गर्दछु । 

(यी सबै केही मस्तिष्क र थोर-बहुत मनका अनुभुती न हुन् ।)

Exit mobile version