भेरी अस्पताल नेपालगन्ज पश्चिम नेपालको बिरामी रेफरल गर्ने अस्पतालका रूपमा रहेको छ । जिल्लाकै ठूलो सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले विशिष्टिकृत सेवासँग बढाउँदै लगेको छ ।
बिरामी संख्या र सेवा बढिरहेको भेरी अस्पतालमा जनशक्ति भने त्यसअनुसार बढ्न सकेको छैन । जसले गर्दा बिरामी सेवाबाट प्रभावित हुने गरेका छन् ।
अस्पतालमा उपचारका लागि गत आ.व.मा ९५ हजारको हाराहारीमा ओपिडिमा बिरामीले सेवा लिन आएका थिए । चालु आ.व.को हालसम्म १ लाख ४० हजार बिरामी उपचारका लागि आइसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाई बताउँछन् ।
अस्पतालमा बुधबार आयोजित इमरजेन्सी कक्ष स्तरोन्नती तथा स्थानान्तरण र अस्पताल विकास समितिका पदाधिकारीको बिदाई कार्यक्रमका वक्ताहरूले अस्पतालमा बिरामीको विरामीको चाप र सेवा वृद्धि हुँदै गर्दा जनशक्ति भने सोही अनुसार नहुँदा सेवा प्रभावित रहेको बताएका थिए ।
अस्पताल विकास समितिका सदस्य धनराम ओलीले अस्पतालका लागि आवश्यक कर्मचारीको सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा पठाएको लामो समय बितिसक्दा पनि स्वीकृत हुन नसकेको बताए । ‘१ हजार ३ सय ७६ चिकित्सक कर्मचारी आवश्यक रहेको प्रतिवेदन मन्त्रालयमा पठाइसकेको लामो समय भयो, तर अझै स्वीकृत भएन’, उनले भने ।
‘व्यवस्थापन समिति र अस्पतालको गरेर १ सय ५० बेड हो तर १ सय ६२ बेड सञ्चालन गरिरहेका छौं’, मेसु चापागाईले भने, ‘पूर्वाधार, उपकरण, विशिष्टिकृत सेवा थपिंदै गयो तर जनशक्ति भने आवश्यकता अनुसार उपलब्ध हुन सकेको छैन ।’
व्यवस्थापन समितिका सदस्य ओलीले कर्मचारी आवश्यकता अनुसार नहुँदा सेवाप्रवाहमा हुने ढिलाईको अपजस कर्मचारीले व्यहोर्नु परिरहेको बताए । ‘चिकित्सक, नर्सले निकै मेहनतले काम गरिरहनु भएको छ, जनशक्ति कम हुँदा हुने सेवा प्रवाहको ढिलाई अपजस र अनावश्यक दबाबले उहाँहरूको मनोबल गिराउने काम भैरहेको छ’, उनले भने । सदस्य ओलीले अस्पतालको आम्दानी वृद्धि भएको, कर्मचारी हितका लागि जम्मा गरिने रकम पनि वृद्धि भैरहेको कार्यक्रममा बताएका थिए ।
अस्पतालका मेसु चापागाईले सरकारी अस्पतालले दिइने सुविधाका लागि न्यून बजेट प्राप्त हुने गरेको बताए । उनले बजेट प्राप्त नहुँदा पनि निःशुल्क दिइने सेवाहरू यथावत दिइरहेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा बीमा गरेको बिरामीको चाप समेत बढिरहेको जानकारी दिंदै सरकारले स्तरवृद्धिसँगै जनशक्ति पनि थप्दै जानुपर्ने धारणा राखेका थिए ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले अस्पताललाई आवश्यक जनशक्ति तत्काल उपलब्ध गराउन माग गर्दै नगरेमा मन्त्रालयमै धर्ना दिने चेतावनी दिए ।
इमरजेन्सीको बेड संख्या दोब्बर
भेरी अस्पताल नेपालगन्जमा इमरजेन्सी वार्डको बेड संख्या दोब्बर बनाइएको छ । हाल १६ बेड सञ्चालनमा रहेको इमरजेन्सी अब ३० बेड सञ्चालन हुने भएको छ ।
अस्पतालले इमरजेन्सी वार्ड नयाँ भवनबाट सञ्चालन गर्ने भएको हो । बुधबार औपचारिक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले इमरजेन्सी वार्डको समुद्घाटन गरेका थिए ।
अस्पतालका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जेठ १५ गतेभित्र नयाँ ठाउँबाट इमरजेन्सी सञ्चालनमा आउने गरी तयारी गरिएको बताए । उनले अब सञ्चालनमा आउने इमरजेन्सी वार्ड सुविधासम्पन्न र व्यवस्थित हुने बताएका थिए ।
‘रातो, पहेँलो र हरियो गरि बिरामीको अवस्था अनुरूपको बेड तथा स्थान बर्गीकरण गरिएको छ’, मेसु चापागाईले भने, ‘कुनै बिरामीको मृत्यु भै हालेमा शव राख्न ब्लाक रुमको व्यवस्था गरिएको छ । आइसोलेसन कोठाको व्यवस्था गरिएको छ । विशेष प्रकृतिका बिरामीहरूको निम्ति अब्जरभेसन कक्ष, पर्याप्त संख्यामा शौचालयको व्यवस्था, ओसिएमसी कक्षको पनि व्यवस्था गरिएको छ ।’
इश्वरी केसीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले सरकारको नीति तथा कार्यक्रममा आएको ओपीडी विहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्ने भन्ने विषय उपयुक्त नरहेको बताएका थिए । उनले स्वास्थ्य मन्त्रालयको नीतिमा विहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्ने भन्ने नरहेकाले यसमा आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी र २ बजेदेखि अपरान्ह ४ बजेसम्म पेइङ वार्ड संचालनको योजनामा छ’, उनले भने । सचिव पोखरेलले ५ सय शैय्याको अस्पताल तयार गरिरहँदा इमरजेन्सी कम्तिमा ५० शैय्याको हुनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘तपाईहरू तत्कालैदेखि त्यसको व्यवस्थापनका लागि पूर्वाधार तर्फ लाग्नुस्, इमरजेन्सीलाई ५० शैय्या पुर्याउनु पर्छ ।’
नर्सिङ प्रमुख दुर्गा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सचिव पोखरेलले स्वास्थ्यकर्मीको अनुमति विना तस्वीर र भिडियो खिच्नेलाई कारवाही गर्ने चेतावनी दिए । उनले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने खालको कार्य स्वीकार्य नहुने बताएका थिए ।
व्यवस्थापन समितिको बिदाई
भेरी अस्पताल विकास समितिको कार्यकाल सकिएको छ । कार्यकाल सकिएका समितिका पदाधिकारीलाई बुधबार
औपचारिक कार्यक्रम बीच बिदाई गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरू सरस्वती मल्ल, कृष्ण प्रसाद श्रेष्ठ र धनराम वलीलाई बिदाई गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले बिदाई हुने पदाधिकारीलाई कदरपत्रसहित सम्मान गरेका थिए ।
बिदाई कार्यक्रममा अस्पताल विकास समितिका सदस्य ओलीले समितिको कार्यकालमा
बिरामीको सेवा, अस्पताल र कर्मचारीहितमा गरेको कार्यहरूबारे बोलेका थिए ।
भेरी अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ साल जेठ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि नियुक्त गरेको थियो । यद्यीप, त्यसबीच राजनीतिक परिवर्तन सँगै समितिका पदाधिकारी तथा सदस्यहरूलाई हटाउने प्रयास गरिएपनि अदालतको आदेशबाट रोकिएको थियो ।
कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा. बद्री चापागाईले अस्पताल विकास समितिबाट सधै समन्वय भएको र अस्पताल विकासमा सहयोग पाएको धारणा राख्दै आगामी दिनमा पनि यस्तै टिम आउनु पर्ने धारणा राखेका थिए ।
पुरानो भवनमा एमआरआई
भेरी अस्पताल नेपालगन्जमा एमआआई सेवा पनि छिट्टै सञ्चालनको तयारी गरिएको छ ।
एमआरआई मेसिनका लागि एलसी खोलिसकिएको अस्पतालले जानकारी दिएको छ ।
अस्पताल व्यवस्थापन समितिका सदस्य धनराम ओलीले एमआरआई मेसिन राख्नका लागि भवन आवश्यक भएकाले तत्कालै इमरजेन्सीलाई नयाँ भवनमा स्थानान्तरण गर्न लागिएको जानकारी दिएका छन् ।
‘अस्पतालमा अर्को सेवा थपिनेछ’, सदस्य ओलीले भने, ‘यसले बिरामीहरू एमआरआइका लागि अन्यत्र जानु पर्ने बाध्यता हट््छ ।’
भवन हस्तान्तरण कहिले ?
भवन हस्तान्तरण नहुँदै भेरी अस्पताल नेपालगन्जले इमरजेन्सी वार्ड बुधबार औपचारिक रूपमा नयाँ भवनमा सारेको छ । यद्यपि, नयाँ भवन बनेर पूर्ण रूपमा तयार भएको छैन भने भवन समेत अस्पताललाई हस्तान्तरण भैसकेको छैन । अस्पतालका प्रमुख मेसु बद्री चापागाईले दुई साताभित्रै भवन हस्तान्तरण हुने अपेक्षा गरे ।
संघीय आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण ३२ करोड लागतको भवन निर्माण भैरहेको छ । उक्त भवन असारसम्म हस्तान्तरण गर्ने योजना रहेको आयोजनाका निमित्त प्रमुख बिजयकेशर खनालले बताए ।