आज र भोलि पानी पर्ने सम्भावना छैन : मौसमविद्

नेपालगन्ज । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज र भोलि देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुका कारण पर्सि बुधबारदेखि सुदूरपश्चिमी क्षेत्रका पहाडी भेगमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

पर्सि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने उनको भनाइ छ । यस्तै, तराई मधेसमा बिहानपख लाग्ने बाक्लो हुस्सु र  कुहिरो दिउँसोपछि बिस्तारै हट्दै जान थालेको छ । यसले गर्दा तराईमा चिसो केही कम हुने मौसमविद्को भनाइ छ ।

तराईमा लामो समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । तीव्र गतिको हावा चलेमा, पानी परेमा वा घाम लागेर तापक्रम बढेमा हुस्सु र कुहिरो हट्दै जाने मौसमविद्ले बताएका छन् ।

Exit mobile version