बाँके : विकास खर्च २७ प्रतिशत मात्रै

चालु आर्थिक बर्ष २०८०÷०८१ को ६ महिना बितिसकेको छ । तर, विकासका लागि आएको पूँजीगत खर्च हेर्ने हो भने आशालाग्दो छैन । यस बर्षपनि विकास खर्च अन्तिम समयमा हुने विगतकै परिपाटी देखिने सम्भावना खर्चको तथ्यांकले देखाएको छ ।


कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, चालू आर्थिक वर्षमा संघ र प्रदेशको गरी कुल पुँजीगततर्फ ६ अर्ब ९ करोड ५४ लाख २३ हजार रूपैया बजेट विनियोजन भएको थियो । चालु आ.व.का. ६ महिना सकिंदा १ अर्ब ६६ करोड ७ लाख ७० हजार ४२५ रूपैयाँ मात्रै खर्च भएको छ । जुन २७.३३ प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका सूचना अधिकारी कोष नियन्त्रक शरदकुमार बरालले बताए ।
सरकारले चालु आर्थिक बर्षको सुरु हुन अघि नै बजेट ल्याउने गरेको छ । संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार सुरुका दिन बजेट ल्याउने गरेको छ । तर, बजेटको खर्च ठूलो हिस्सा भने बैशाख पछि नै हुने गरेको छ । कतिपय विकास निर्माणका जेठ, असारमा हतारमा गरिंदा ‘असारे विकास’ भन्दै आलोचना हुने गरेको छ ।


चालु खर्च भने बजेट विनियोजन अनुसारको हाराहारीमा नै हुने गरेको छ । सूचना अधिकारी बरालका अनुसार, चालु आ.व.को ६ महिनामा चालु खर्च कुल बजेटको ४३.४२ प्रतिशत भैसकेको छ । संघ र प्रदेशको गरी चालुतर्फ कुल १२ अर्ब २४ करोड ३० लाख ७५ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ३१ करोड ७१ लाख २३ हजार ५६२ रूपैया खर्च भएको हो । चालु आर्थिक बर्ष २०८०/०८१ को आधा अवधी सकिँदा जिल्लामा संघतर्फ भने ३२ प्रतिशत विकास बजेट खर्च भएको छ । कोलेनिकाका अनुसार, कुल तीन अर्ब ९० करोड ७१ लाख ४७ हजार विकास बजेट छुट्टयईएकोमा पुस मसान्तसम्म १ अर्ब २६ करोड ३९ लाख ८३ हजार ४१८ रूपैया खर्च भएको छ । यस्तै चालु तर्फ १० अर्ब ७९ करोड १ लाख ४८ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ३४ करोड ६४ लाख ५३० रूपैया खर्च भएको कोष तथा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।


६ महिनाको अवधिमा प्रदेशतर्फ भने १८ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तगर्तका जिल्लाका कार्यालयहरूका लागि २ अर्ब १८ करोड ८२ लाख ७६ हजार पुँजीगत बजेट विनियोजन भएकोमा ३९ करोड ६७ लाख ८७ हजार मात्र खर्च भएको छ । यस्तै चालुतर्फ १ अर्ब ४५ करोड २९ लाख २७ हजार बजेट विनियोजन भएकोमा २८ करोड २४ लाख ८३ हजार १३१ मात्र खर्च भएकोे कोलेनिका बाँकेका सूचना अधिकारी बरालको भनाई छ ।


बाँकेमा केही विकासे कार्यालयहरूले भने पूँजीगत तर्फको राम्रो नै रहेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले चालु आ.व.का. ६ महिनामा ८१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आयोजनाको कुल पँुजीगत बजेट ६२ करोड विनियोजन भएकोमा पुस मसान्त सम्म ५० करोड ८१ लाख ८० हजार ३९९ खर्च भएको कोलेनिकाको तथ्यांकले देखाउँछ ।


यसैगरी पुल योजना पश्चिम सेक्टर नम्बर ३ ले ६ महिनाको अवधिमा ५४.१२ प्रतिशत खर्च गरेको छ । कार्यालयका लागि यसबर्ष २९ करोड १५ लाख ६० हजार बजेट बिनियोजन भएकोमा १५ करोड ७७ लाख ९५ हजार ५४४ बजेट खर्च भएको हो । यस्तै सडक डिभिजन बाँकेको ३५ करोड ८१ लाख ३० हजार बजेट रहेकोमा पुससम्म १४ करोड २१ लाख ५० हजार अर्थात ३९.६९ प्रतिशत खर्च भएको छ ।


विकास बजेट कम खर्च गर्नेमा राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना रहेको छ । आयोजनाले पुस मसान्तसम्म करिव २१ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको हो । कोलेनिकाका अनुसार सिक्टा सिँचाई आयोजनामा कुल पूँजीगत बजेट ७५ करोड ४८ लाख विनियोजन भएकोमा १५ करोड ८४ लाख ४६ हजार ४९९ मात्र खर्च भएको हो । कार्यालयका लागि यसबर्ष ज्यादै न्युनमात्र बजेट विनियोजन भएको थियो । गत आर्थिक बर्षमा १ अर्ब ८५ करोड ५ लाख पूँजीगत बजेट विनियोजन भएकोमा यसबर्ष ७५ करोड ४८ लाख मात्र बिनियोजन हुँदा आयोजनाका महत्वपूर्ण विकास निर्माणका काम प्रभावित भएका छन् ।

Exit mobile version