टूर दि ठाकुरद्वाराका यात्रुलाई ‘कैलाश दूरदर्शन’

साइकल उत्सवसँग कैलाश मानसरोवरको दूरदर्शन अवसरलाई जोडिने भएको छ । नेपालगन्ज साइक्लिङ क्लबले त्यसका लागि आवश्यक पहल थालेको हो ।

‘नेपालगन्ज साइकल उत्सवका सहभागीहरुलाई विशेष अफरसहित माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शनको अवसरसँग जोड्न पहल थालिएको छ,’ इभेन्ट डाइरेक्टर सतिश निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागीलाई २८ माघमा माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउन सिद्धार्थ ग्रुपसँगको सहकार्य गरिएको छ ।’ निरौलाले भारतबाट उल्लेख्य संख्यामा साइकल यात्री आउने निश्चित भएकाले यसखालको पहल गरिएका बताए ।

त्यसैबीच, उत्सवको तयारी अन्तर्गत क्लब अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा बुधबार बैठक बसेको छ । क्लबका सहसचिव दिपक मल्लले दिएको जानकारी अनुसार, नेपालगन्ज साइकल उत्सव अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । ‘तयारीलाई तिब्रता दिंदै विभिन्न निर्णय गरिएका छन्, सह–सचिव मल्लले दैनिक नेपालगन्जसँग भने, ‘यसपटकको इभेन्ट आकर्षक हुनेमा विश्वस्त छौं ।’

क्लब अध्यक्ष सापकोटाका अनुसार, टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेची महाकाली साइकल यात्रा पूरा गरेका साइकल यात्रीहरुलाई रजिस्ट्रेशन शुल्कमा पाँच सय रुपैयाँ, सम्पूर्ण महिला सहभागीलाई पाँच सय रुपैयाँ छुट गर्ने निर्णय बैठकले गरेको छ । ‘१५ वर्ष मुनिका सहभागीलाई भने एक हजार रुपैयाँमा सहभागी गराइने निर्णय गरिएको छ,’ अध्यक्ष सापकोटाले बैठकबारे दैनिक नेपालगन्जसँग भने ।

साइकल यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन कार्य समिति सदस्य बाबुराम बिकको संयोजकत्वमा रुट ब्यबस्थापनको जिम्मेवारी दिइएको जानकारी दिंदै क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले शनिबारभित्र फाइनल रुट तय गरिने बताएका छन् ।

क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले तयारीमा सबैको सक्रियता जुटेको बताए । ‘कार्यक्रमलाई भब्य उत्सवका रूपमा आयोजना गर्न कुनै कसर नराखेर तयारी गरिरहेका छौं,’ श्रोत ब्यबस्थापन पनि गरिसकिएको जानकारी दिंदै क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ताले भने, ‘यसलाइै नेपालगन्जवासीले अपनत्व लिइदिनुपर्छ ।’

Exit mobile version