भ्रष्टाचार आरोपमा मुख्यमन्त्री पक्राउ

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएका हुन् ।

मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि सोरेनले राति नै राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । ईडी केन्द्र सरकारमातहतको निकाय हो । उक्त निकायले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ । मुख्यमन्त्रीको पदमा रहेकै अवस्थामा सोरेन पक्राउ परेका हुन् । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छ । राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो ।

Exit mobile version