सहकारी नेतृत्व छान्दै चार हजार मतदाता

बाँकेको सहकारी आन्दोलनमा अग्रणी भूमिका खेलिरहेको मध्ये भेरी सहकारी वित्तीय संस्था लिमिटेडको आगामी नेतृत्व चयनका लागि आज शनिबार निर्वाचन हुने भएको छ । समुदाय स्तरमा निकै ठूलो बित्तीय कारोबार गरिरहेको भेरी सहकारीको आगामी चार बर्षका लागि चार हजार बढी मतदाताले मतदान मार्फत नेतृत्व चयन गर्न लागेका हुन् ।
संस्थाको २८औं बार्षिक साधारणसभाले शनिबार निर्वाचन गर्न अधिवक्ता झविन्द्र पौडेलको नेतृत्वमा निर्वाचन समिति बनाएको हो । ‘चार हजार बढी मतदाता आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान गर्दै हुनुहुन्छ’, निवर्तमान अध्यक्ष बसन्त लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘सहकारी आन्दोलन नै जोखिममा परेका बेला यो निर्वाचन महत्वपूर्ण छ ।’
सञ्चालक समितिका लागि वर्तमान अध्यक्ष पदम बहादुर भण्डारी, निवर्तमान अध्यक्ष बसन्त लामिछाने, पूर्व अध्यक्ष विष्णु मैनाली लगायतका १७ जना आकांक्षी देखिएका छन् । उनीहरू मध्ये ९ जनालाई मतदाताले सञ्चालक समितिका लागि चुन्नेछन् । ‘चुनिएका मध्येको सञ्चालक समितिले नेतृत्व चयन गर्दै जिम्मेवारी बाँडफाँड गर्ने विधानमा व्यवस्था छ’, निवर्तमान अध्यक्ष लामिछानेले भने । त्यसका लागि वर्तमान सञ्चालक समितिकै बिन्द्र खरेल, देव जंग शाह लगायतका मैदानमा उत्रिएका छन् । त्यस्तै, अञ्जु शर्मा, ज्ञान बहादुर ओली, बसन्त हमाल, हुमलाल चौधरी, बिमला गुरुङ्ग, रुक्मिणा भारती, भीम बहादुर मल्ल, बेल बहादुर बुढा, अरूण प्रताप सिंह लगायतले उम्मेदवारी दिएका छन् ।
पछिल्लो बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष भण्डारीले आ।व। २०७९÷०८० को प्रतिवेदन पेश गर्दै संस्थाको नाफा १ करोड ५५ लाख , शेयर पुँजी १ करोड ७२ लाख, कर्जा कारोबार २९ करोड र निक्षेप १४ करोड ९७ लाख भएको जानकारी दिएका थिए ।

Exit mobile version