सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरू हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन् ।

यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनले भने, ‘सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ। नियमितरूपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएका छन् ।’ तयारीका सन्दर्भमा हरेक १५-१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक  सञ्चालन गर्ने भएपछि त्यसको कार्यान्वयनका लागि दुवै सदनका नेतृत्व प्रतिबद्ध छन् । विधेयक अधिवेशनका रूपमा रहने यस हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४  विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् ।

हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ । एउटा  भने छलफल पूरा भई प्रतिवेदन निर्माणको चरणमा छ । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाती छ । जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाका रूपमा रहने सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ ।

Exit mobile version