नोबेल पुरस्कारका  ९ विजेता लुम्बिनी आउँदै

लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरूको सहभागिता हुने भएको छ । फागुन २७ देखि २९ सम्म सञ्चालन हुने यस सम्मेलनमा विभिन्न देशका दुई सयभन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको बताइएको छ ।

अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित सातजना रहेका छन् । सत्यार्थीले सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन पनि गरिरहेका छन् । सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टा (१९९६), जोडी विलियम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्म्यान छन् । त्यस्तै सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेशनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्ट्स (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल (२०१३) पनि लुम्बिनी आउँदै छन् । त्यसैगरी, शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङलगायतको पनि सहभागिता रहने निश्चित भएको लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव एवं सम्मेलनका संयोजक सुमन घिमिरेले बताए ।

Exit mobile version