प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

नेपालगन्जबाट श्रीमती आएकी छिन् भनेर बिदामा बसेका एकजना प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । लामो समय नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत भइ दुई महिनाअघि मात्रै सरुवा भएर जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

 ‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नम्बर १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैँले स्वीकार गरेका छन् । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version