संसद्को हिउँदे अधिवेशन आजदेखि

विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । यसै अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । संसद्मा उक्त विधेयक गत फागुन २५ मा दर्ता भएको थियो । योसँगै संघीयतासँग जोडिएका कानुन पनि यसै अधिवेशनबाट पारित गर्ने तयारीमा सरकार जुटेको छ ।

यसअघिको अधिवेशनमा बजेटसँग सम्बन्धित तीन वटा विधेयकमध्ये एउटा मात्र पारित भएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हिउँदे अधिवेशनबाट ३० वटाभन्दा बढी विधेयक पारित गर्ने सरकारको लक्ष्य रहेको बताए । उनका अनुसार तीमध्ये प्राथमिकताको केन्द्रमा टीआरसी विधेयक रहेको छ । सरकारले शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने प्रमुख राजनीतिक दलहरूबीचको सहमतिमा नै टीआरसी विधेयक पारित गर्न जोड दिइरहेको छ ।

Exit mobile version