रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु

सहकारी प्रकरणमा कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि अनुसन्धान सुरु भएको हो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिए । ‘पूरक जाहेरी छुट्टै दर्ता गर्नुपर्दैन, पुरानै मिसिलमा थप्ने हो, दर्ता नम्बर पनि पुरानै हुन्छ । सूर्यदर्शनबारे थप व्यक्तिहरुमाथि अनुसन्धान थालेका छौँ,’ उनले भने । सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बाँस्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ । पीडितहरुले १४ संस्थाविरुद्ध पनि जाहेरी दिएका छन् ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

Exit mobile version