वडाध्यक्षले गरे प्राविधिकमाथि कुटपिट, प्राविधिकद्वारा पालिकाको कामकाज ठप्प

गणेश विशु

खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि हातपात भएको छ । खजुरा गाउँपालिका-५ का वडाध्यक्ष गरिबे शेषले आज दिउसो प्राविधिक धामीमाथि कार्यक्षेत्रमै हातपात गरेका हुन् ।

खजुरा गाउँपालिका-६ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको माटो पटान कामको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीलाई वडाध्यक्ष गरिबेले आफ्नो कमजोरी ढाकछोप गर्न कुटपिट गरेको स्रोतले जनाएको छ । वडाध्यक्ष गरिबे वडा नम्बर ५ का वडाध्यक्ष हुने । उनी वडा नम्बर ६ मा रहेको भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत छन् । करिब १४ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको वडाध्यक्ष गरिबले बताए ।

गाउँपालिकाले माटो पटानका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । ‘पालिकाबाट विनियोजित रकम बराबरको काम भएको छ कि छैन भनेर प्राविधिकले मूल्यांकन गरिरहेका थिए,’ दैनिक नेपालगन्ज डट कमलाई स्रोतले भन्यो, ‘प्राविधिक मूल्यांकन भइरहेको अवस्थामा वडाध्यक्ष गरिबे आइ धरपकट पारि कु कुटपिट गर्नुभयो ।’ वडाध्यक्ष गरिबेले नापजाँच नगरि प्राविधिक मूल्यांकन गर्न दबाब दिइरहेको बताइएको छ ।

वडाध्यक्ष गरिबेको कुटाइबाट घाइते भएका प्राविधिक धामीको मेडिकल परीक्षण भइरहेको छ । उनको गाला र माथिल्लो ओट सुनिएको छ । वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरुले कामकाज ठप्प पारेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीमा उनीहरु वडाध्यक्ष गरिबेविरुद्ध उजुरी हाल्न पुगेका छन् ।

यता वडाध्यक्ष गरिबेले भने हातपात नभइ सामान्य वादविवाद मात्र भएको दाबी गरेका छन् । ‘इस्टिमेटअनुसार काम गरेका थियौ,’ उनले भने, ‘इस्टिमेटअनुसार काम भएको छ भने किन खनेर हेर्नु पर्‍यो ।’ खनेर  हेर्दा फेरि खाल्डो पूर्दा घाटा हुने भन्दै उनले भने, ‘त्यसो नगर्नुभन्दा उल्टै प्राविधिकले मलाई औँला उठाएर कुरा गर्नुभयो । खन्नु भनेर मलाई काम लगाउनु भयो । एउटा प्राविधिकले वडाध्यक्षलाई औँला उठाएर काम लगाउने हो ?’

Exit mobile version