कर्मचारी कुटपिट गरी विवादमा आएका वडाध्यक्षले फेरि कुटे कार्यकर्ता

हिजो मात्र कर्मचारीमाथि कुटपिट गरेर विवादमा आएका खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेष आज फेरि राजनीतिक विवादमा मुछिएका छन् । राजनीतिक छलफलका लागि उनलाई भेट्न गएका मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्तामाथि उनले कुटपिट गरी पुनः विवादमा मुछिएका हुन् ।

कृष्ण शाह, प्रेम थापा, फेरन चौधरी, जगत ओली र अर्का एकजनालाई उनले कुटपिट गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ । साथै उक्त पार्टीका समर्थक अनिसा बेगमलाई घरबाटै ल्याएर कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफ्ना उनीहरुकै भाषामा गुण्डाहरु लगाएर कुटपिट गर्न लगाएको आरोप लागेको छ । वडाध्यक्षले अमानवीय र अराजनीतिक र असैद्धान्तिक व्यवहार देखाएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बाँके बर्दिया इन्चार्ज दिपक शाहीले जनाए । उनका अनुसार तीनजनाको अहिले उपचार भइरहेको छ ।

घाइतेलाई प्रहरीले भेट्न नदिएको उनले बताए । ‘प्रहरीको घेरामा घाइतेको उपचार भइरहेको छ,’ उनले भने, ‘एक किसिमले घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको अवस्था के कस्तो छ त्यो त थाहा पाउनु पर्‍यो । भोलि केही को जिम्मेवारी ?’ यता प्रहरीले राजनीतिक विषयका विवाद हुँदा घटना भएको बताएको छ । राजनीतिक विषयमा कुरा नमिल्दा स्थानीयले प्रतिकार गर्दै आक्रमण गरेको बाँकेका एसपी एसपी सुवास बोहराले जानकारी दिए ।

यता वडाध्यक्ष शेषले भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले सेवाग्राहीमाथि हातपात गर्न थालेपछि स्थानीयले प्रतिकार गरेको बताएका छन् । वृद्धाभत्ता वितरण गर्दै गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ता झण्डासहित उत्तेजित ढंगले वडा कार्यालयमा प्रवेश गरेको उनको भनाइ छ । आउनु अघि कुनै समन्वय नभइ एक्कासी उनीहरुले आएको उनको भनाइ छ ।

Exit mobile version