dainik
alo
alo
३ अर्ब ९३ करोड ३५ लाख रकम विनियोजन

बाँके : संघले घटायो बजेट

संघीय सरकारले अघिल्लो आ.व. भन्दा २२ करोड कम बजेट बाँकेका स्थानीय तहलाई छुट्याएको हो ।
dainiknepalgunj

dainiknepalgunj

प्रकाशित: २४ सेप्टेम्बर, २०२३, ०८:२७ पूर्वाह्न

alo
बाँके : संघले घटायो बजेट
alo


देबेन्द्र राज पौडेल

संघीय सरकारले बाँकेका स्थानीय तहका लागि चालु आ.व. २०७९/०८० का लागि विनियोजन गरेको भन्दा २२ करोड बढी कम बजेट विनियोजन गरेको छ । सरकारले आगामी आ.व. २०८०/८१ का लागि चालु आ.व.को तुलनामा २२ करोड ३८ लाख कम बजेट विनियोजन गरेको हो । प्रत्येक बर्ष बजेट बढाउँदै लग्ने संघीय सरकारले यसपटक घटाएर बजेट विनियोजन गरेको हो । 
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार, संघीय सरकारले आगामी आ.व. २०८०/८१ मा बाँकेका आठ स्थानीय तहका लागि पूँजीगत र चालु तर्फ गरी ३ अर्ब ९३ करोड ३५ लाख रकम विनियोजन गरेको छ । सरकारले चालु आ.व.का २०७९/०८० का लागि चालु र पूँजीगत गरी ४ अर्ब १५ करोड ७३ हजार बजेट विनियोजन गरेको थियो । 
सरकारले आगामी आ.व.मा बाँकेका आठ स्थानीय तहका लागि चालु तर्फ ३ अर्ब ६९ करोड ९९ लाख र पूँजीगत तर्फ २३ करोड ३६ लाख विनियोजन गरेको हो । जुन चालु आ.व.का लागि ३ अर्ब ६६ करोड ४४ लाख र पूँजीगत तर्फ ४९ करोड २९ लाख रूपैयाँ थियो । सरकारले चालु र पूँजीगत दुवै तर्फको बजेट कटौती गरेको छ । 
आगामी आ.व.का लागि संघीय सरकारले आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ १ अर्ब २६ करोड ९९ लाख, सशर्त तर्फ २ अर्ब ५२ करोड ८६ लाख, विशेष तर्फ ७ करोड ६० लाख, समपुरक तर्फ ५ करोड ९० लाख रूपैयाँ विनियोजन गरेको छ । 
सरकारले आगामी आ.व. २०७९/०८० का लागि सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकाका लागि विनियोजन गरेको छ । संघीय सरकारले नेपालगन्ज उपमहानगरपालिकाका लागि कुल ८८ करोड ३८ लाख रूपैयाँ विनियोजन गरेको छ । जसमा सशर्त अनुदान ५६ करोड ९६ लाख, वित्तीय समानिकरण २९ करोड ४७ लाख, विशेष अनुदान १ करोड २० लाख र समपुरक अनुदान ७५ लाख रहेको छ । 
कोहलपुर नगरपालिकाले आगामी आ.व.का लागि ५३ करोड ४३ लाख बजेट पाउने भएको छ । जसमध्ये सशर्त अनुदान ३३ करोड ९७ लाख, वितीय समानिकरण अनुदान १८ करोड २६ लाख, विशेष अनुदान ७० लाख, समपुरक अनुदान ५० लाख रूपैयाँ विनियोजन गरेको छ । खजुरा गाउँपालिकाका लागि सरकारले सशर्त अनुदान ३६ करोड २९ लाख, वित्तीय समानिकरण १४ करोड ६२ लाख, विशेष अनुदान ८५ लाख र समपुरक अनुदान ५० लाख गरी ५२ करोड २६ लाख रूपैयाँ छुट्याएको छ । त्यस्तै, बैजनाथ गाउँपालिकाले आगामी आ.व.का लागि कुल ४८ करोड ७५ लाख विनियोजन गरिएको छ । जसमा सशर्त ३१ करोड ९५ लाख, वित्तीय समानिकरण १५ करोड २० लाख, विशेष अनुदान १ करोड, समपुरक ६० लाख रूपैयाँ रहेको छ । 

 


जानकी गाउँपालिकाले आगामी आ.व. का लागि ३१ करोड २४ लाख रूपैयाँ प्राप्त गरेको छ । जानकीले सशर्त तर्फ १८ करोड ४३ लाख, वित्तीय समानिकरण तर्फ ११ करोड ६६ लाख, विशेष तर्फ ५५ लाख र समपुरक तर्फ ६० लाख रूपैयाँ प्राप्त गर्ने भएको हो । डुडुवा गाउँपालिकाले ३३ करोड ७३ लाख रूपैयाँ संघीय सरकारबाट पाउँदैछ । जसमा सशर्त तर्फ १९ करोड ८५ लाख, वित्तीय तर्फको ११ करोड २३ लाख, विशेष १ करोड र समपुरक तर्फ १ करोड ६५ लाख रूपैयाँ रहेको छ । 
राप्तीसोनारी गाउँपालिकाका लागि ५२ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३५ करोड २ लाख, वित्तीय समानिकरण १५ करोड ६३ लाख रहेको छ । राप्तीसोनारीका लागि विशेष १ करोड १५ लाख र समपुरक ७० लाख बजेट विनियोजन गरिएको छ । 
त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ३३ करोड ६ लाख रूपैयाँ विनियोजन गरिएको छ । नरैनापुरले २० करोड ३९ लाख सशर्त, १० करोड ९२ लाख वित्तिय समानिकरण, विशेष तर्फ १ करोड १५ लाख र समपुरक तर्फ ६० लाख लाख रूपैयाँ बजेट प्राप्त गर्दैछ । 
संघीय सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकमा अनुदान दिने गरेको हो । पालिकालाई चालु र पुँजीगत दुवै शीर्षकमा अनुदान दिने गरिएको छ । सोही बजेटका आधारमा स्थानीय सरकारले आफ्ना कार्यक्रम बनाउने गरेका छन् । त्यसबाहेक स्थानीय सरकारको बजेटको स्रोत राजस्व बाँडफाँटबाट आउने रकम पनि हो ।
स्थानीय तहको छ बर्षे कार्यकाल बित्दा पनि स्थानीय तहले आन्तरिक स्रोतमा भने वृद्धि गर्न सकेनन् । बाँकेका सबैजसो पालिकाका जनप्रतिनिधिले आन्तरिक आय बढाउनु पर्छ भन्नेमा विषय गाउँ तथा नगरसभामा राख्ने गरेका छन् । कतिपय पालिकाले आफ्नो नीतिमै आन्तरिक आय बढाउने, करको दर भन्दा दायरा बढाउने उल्लेख गरेको पाइन्छ । तर, यसको कार्यान्वयन पक्ष भने निकै फितलो रहेको छ । 
संघ र प्रदेश सरकारले चालु र पूँजीगत बजेट दिने गर्दछ । चालु खर्च प्रशासनिक हो । पूँजीगत खर्च मात्रै विकास, निर्माणका कार्यमा खर्च हुने गर्दछ । त्यसमा पनि स्थानीय तहले संघ र प्रदेशबाट प्राप्त सबै बजेट आफ्नो योजना अनुसार खर्च गर्न पाउँदैनन् । स्थानीय तहले प्राप्त गर्ने सशर्त, समुपुरक, विशेष अनुदान बजेट बाँडफाँड गर्न पाउँदैनन् । वित्तीय समानिकरणको बजेट मात्रै स्थानीय तहले आफ्नो योजनामा खर्च गर्न पाउने गरेका छन् । संघ र प्रदेशबाट बजेट कम आउने र आन्तरिक आय समेत स्थानीय तहले वृद्धि गर्न नसक्ने हो भने अब आउने स्थानीय तहको बजेट पनि अघिल्लो आ.व.को तुलनामा कम हुने अनुमान गरिएको छ । 

alo
alo
alo