बाँके रेडक्रसको ४२औं जिल्ला सभा

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४२औं जिल्ला बार्षिक साधारण सभा नेरेसो सोनारी उपशाखाको अतिथ्यतामा ने.रा.मा.वि. गुलरीमा शुक्रवार सम्पन्न भएको छ ।


सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि प्रा.सुदर्शन प्रसाद नेपालले देशभरीका रेडक्रस स्वयंसेवकहरु हरक्षण मानवीय सेवा प्रदान गर्दै आएको बताउँदै रेडक्रसको बिधान संशोधन हुने क्रममा रहेको र प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला भै रहेको कुरा स्पष्ट पार्नु भयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपति लाल श्रेष्ठले विगतमा रेडक्रसको बैधानिकतामा आएका कठिनाई हाल समाधन भएको कुरा उल्लेख गर्नु भयो ।


नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सुपर कार्यक्रमद्वारा नेपालगंजमा भैरहेको सहयोगको खुलेर प्रंशसा गर्नु भयो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले यो पालिका विपद्को उच्च जोखिम रहेको बताउँदै रेडक्रसको समन्वयमा विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना निर्माण र राहत व्यवस्थापन जस्ता महत्पूर्ण कार्य भएको र उपशाखाहरुको संस्थागत विकासमा पालिकाको सहयोग निरन्तर हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जब मानवता संकटमा हुन्छ त्यहाँ रेडक्रस पुगेको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा प्रशासनको सहकार्य संधै हुनेगरेको कुरा उल्लेख गर्नु भयो । रुकुम र जाजरकोटा जिल्लाका भूकम्प प्रभावितलाई स्वास्थ्य उपचार र राहत सहयोग बाँकेबाट भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा ८ वटै स्थानीय तहलाई संस्थागत सम्मान गरिएको छ । बार्षिक कार्यसम्पादक मूल्यांकनको आधारमा १७ वटा उपशाखा मध्ये नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको छ । यसैगरी जुनियर तथा युवा विकास तर्फ युवा रेडक्रस सर्कल सिद्देश्वर मा.वि. प्रथम, ज्ञानोदय मा.वि. द्वितीय र शिवशक्ति मा.वि. कोहलपुर तृतीय स्थान प्राप्त गरेका छन् । उक्त सर्कललाई स्व.खेमराज श्रेष्ठ स्मृति पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी युवा रेडक्रस सर्कल शिवशक्ति मा.वि.की शिक्षकनायक दोर्णा वलीलाई उत्कृष्ट शिक्षक नायक पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले समिक्षात्मक सम्बोधन गर्दै बर्षभरीमा १५ लाख ७३ हजार ३४ जना रेडक्रसको सेवाबाट लाभाविन्त भएको बताउनु भयो । नेरेसो बाँकेका मन्त्री अजीज अहमद सिद्दिकीले आ.ब. २०७९÷२०८० को प्रगति र आगामी आ.ब. २०८१÷२०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले .आ.ब. २०७९÷२०८० को आय व्यय, लेखा परीक्षण प्रतिवेदन र आगमी आ.ब. २०८१÷२०८२ कोे लागि ३ करोड ७३ लाख ५२ हजार ६ सय ४६ रुपैयाको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो ।

नेरेसो सोनारी उपशाखाका सभापति यज्ञनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका केन्द्रीय उपाध्यक्ष राधा नेपाली, बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठ र बागेश्वरी उपशाखाका सभापति जीवनाथ सापकोटा लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गर्नु भएको थियो । सभा स्थल आतिथ्य ने.रा.मा.वि. गुलरी र सिद्देश्वर मा.वि.का बालबालिकाहरुले नृत्य र योग अभ्यासको प्रदर्शन गरेका थिए ।

Exit mobile version