बालेनद्वारा सहरी विकास मन्त्रालयलाई जवाफ दिन इन्कार

धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जवाफ दिन इन्कार गरेका छन् ।

मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो । तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । यसबाट मन्त्रालयका उच्च कर्मचारीले मेयर शाहको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

‘चिठीको जवाफ त आउनुपथ्र्यो । जे भए पनि केही न केही कुरा आउनुपथ्र्यो । जवाफ नै नआउनु अति नै अपमान हो,’ कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, ‘हामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौं ।’ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका उच्च कर्मचारीले धरहराको पार्किङ खुला गरेको विषयमा मेयर शाहसँग पनि कुरा गर्न खोजेका छन् ।

गत माघ १४ गतेदेखि महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ खुला गरिदिएको थियो । महानगरले मन्त्रालयसँग समन्वय र जानकारी नगराई एकलौटी ढंगबाट पार्किङ खुला गरेको भन्दै सहरी विकास मन्त्रालयले आपत्ति जनाएको हो । यसबाट सहरी विकास र काठमाडौं महानगरबीच टकराव उत्पन्न भएको छ ।

Exit mobile version